‘अझै बीस, तीस वर्ष सरकारको नेतृत्व गर्ने कार्यदिशा चाहियो’
प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्तहरू पक्राउ पर्नु ‘युद्धअपराधको मुद्दा लगाएर आफूहरूलाई अन्तर्राष्ट्रिय अदालत, हेग लैजाने तयारी’ भएको दाबी गर्दै सत्ता नछाड्ने धारणा दोहोर्याएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले महाधिवेशनपछि चुनावी सरकार बनाएर देशलाई निकास दिने बताइरहेका बेला बन्दसत्रमा उठेका प्रश्नको बुधबार जवाफ दिँदै भट्टराईले अझै बीस, तीस वर्ष सरकारको नेतृत्व गर्ने कार्यदिशा बनाउनुपर्ने समेत बताए ।
‘हामी सरकारमा नभएको भए युद्धअपराधको मुद्दा लगाएर हेग पुर्याइसक्थे । प्रतिक्रान्तिको खतरा थियो । परिवर्तनको एजेन्डा कार्यान्वयनका लागि र प्रतिक्रान्ति रोक्न सरकारको मोर्चा नछाडेको हो,’ प्रधानमन्त्री भट्टराईको भनाइ थियो, ‘हामी सडकबाट दबाब दिइरहेका छौं । माथिबाट हस्तक्षेप गर्न सरकार नछाडेको हो । यो महाधिवेशनबाट अझै बीस-तीस वर्ष सरकारको नेतृत्व गर्ने कार्यदिशा ल्याउनुपर्छ ।’
बन्दसत्रमा सरकारका कामकारबाहीको चर्को आलोचना भएपछि सामूहिक निष्कर्ष सुनाउन बनाइएको ६३ मध्ये २३ समूहका टोली नेताको भनाइ बाँकी रहँदै धारणा राखेका प्रधानमन्त्रीले बीस/बाइस वर्ष सत्तामा रहेका कांग्रेस-एमालेलाई डेढ वर्ष बाहिर राख्नु नै सरकारको प्रमुख उपलब्धि भएको तर्क गरे । ‘उपयुक्त र अनुकूल विकल्पबिना सरकार छाड्नु आत्मघाती हुनेछ,’ उनले दोहोर्याए ।
पार्टी र सरकारबीच समन्वय नहुनु, विपक्षीको अवरोधलगायत कतिपय कारणले जनजीविकाका सवालमा काम गर्न नसकेको उनको भनाइ थियो । करिब २ घन्टा सफाइ पेस गरेका भट्टराईले वैचारिक पक्ष, इतिहासको मूल्यांकन र अन्तरसंघर्ष, कार्यदिशा, संगठन र नेतृत्व, तत्कालीन राजनीतिक निकास गरी पाँच भागमा धारणा राखेका थिए ।
संविधानसभाको चुनाव नै उपयुक्त विकल्प भएको प्रधानमन्त्रीको भनाइ थियो । पार्टीका पक्षमा काम गर्न खोज्दा तीन पटक सर्वोच्च अदालत जानुपरेको गुनासो पनि उनले गरे । ‘कहिल्यै मुद्दा मामिला नबेहोरेको मान्छे, तीन पटक सर्वोच्च धाएँ,’ उनले भने, ‘फेरि बोलाएको छ भन्ने सुन्दै छु ।’
संघीयता पक्षधरहरूसँग गठबन्धन गरेर बहुमत ल्याउन सके नयाँ संविधानसभाबाट संविधान जारी गरी परिवर्तनलाई संस्थागत गर्न सकिने उनले बताए । पार्टीमा गफास्टकहरू बढेको भन्दै आफ्नो मन्तव्यका क्रममा विद्यावारिधि गरेका भट्टराईले नेता, प्रतिनिधि र पर्यवेक्षकलाई किताब पढेर अध्ययन बढाउन पटकपटक सुझाव दिए ।
‘धोबिघाटजस्ता धेरै घाट छन्’
धोबिघाट गठबन्धन गरेको भनेर बन्दसत्रमा चर्को आलोचना खेपेका प्रधानमन्त्री भट्टराईले त्यस्ता धेरै घाट पार गरेर यहाँसम्म आइपुगेको बताए । ‘थुप्रै घाटको पानी खाँदै, पार गर्दै यहाँसम्म आइपुगेका हौं । धोबिघाटको कुरा राख्दा मलाई आपत्ति छैन तर सबै घाटको संश्लेषण गरेर अघि बढ्नुपर्छ,’ उनले भने । आफूले पनि पार्टीभित्र घेराउ र कारबाही भोगेको उनले उल्लेख गरे ।
तत्कालीन उपाध्यक्ष तथा हाल नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यको अगुवाइमा पार्टी अध्यक्ष दाहालविरुद्ध धोबिघाट गठबन्धन गरिएको भट्टराईको भनाइ थियो । ‘किरण (वैद्य) जीले पार्टी जीवनमा पहिलोपटक अल्पमतमा परें भनेर दुखेसो गर्नुभयो । त्यसैले विचारमा कैयन् असमानता हुँदा पनि मैले संगठनात्मक रूपमा गठबन्धन गरेको हुँ,’ भट्टराईले भने, ‘उहाँहरूले त अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेताबाट पनि हटाउनेमा जोड दिनुभएको थियो, मैले मानिनँ । नेतृत्व हटाउनेभन्दा पनि नेतृत्वका कमी-कमजोरी सच्याउने, सांगठनिक पद्धतिमा सुधार ल्याउने सन्दर्भमा गठबन्धन भएको थियो ।’
भट्टराई र एमाओवादीकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र फरक मत राख्दै आएका अर्का उपाध्यक्ष वैद्य र महासचिव रामबहादुर थापासँग मिलेर २०६८ साउनमा ललितपुरको धोबिघाटमा भेला गरी दाहालविरुद्ध मोर्चाबन्दी गरेका थिए । त्यही मोर्चाबन्दीपछि भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सार्न दाहाल बाध्य भएका थिए । भट्टराईलाई प्रधानमन्त्री र श्रेष्ठलाई उपप्रधानमन्त्रीमा निरन्तरता दिने सहमति भए पनि सरकार गठनका बेला मधेसी मोर्चासँग भएको चारबँुदे सहमतिपछि वैद्य र थापा समूहले भने पार्टीभित्रै फरक बहस चलाएको थियो । धोबिघाट गठबन्धनको एक वर्षपछि गत साउनमा वैद्यको नेतृत्वमा पार्टी नै फुटाएर नेकपा-माओवादी गठन भएको थियो ।
‘क्रान्तिलाई थुप्रै बिप्पा गर्नुपर्छ’
बिप्पा सम्झौतालगायत भारतसँगको सम्बन्धमा राष्ट्रिय हितविपरीत काम गरेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री भट्टराईले पार्टीले अहिले लिएको जनवादी-पुँजीवादी क्रान्तिको कार्यदिशा कार्यान्वयन गर्न थुपै्र बिप्पा गर्नुपर्ने प्रस्टीकरण दिएका छन् । राष्ट्रियताबारे मौखिकरूपमा फरक मत राखेका र सार्वजनिक सञ्चार माध्यममा चर्को अभिव्यक्ति दिएका उप्रधानमन्त्रीसमेत रहेका अर्का उपाध्यक्ष श्रेष्ठलाई पनि उनले निसाना साँधेका थिए ।
‘राष्ट्रियताबारे बाहिर चर्को कुरा गर्दै हिँड्नु भविष्यमा आफ्नै लागि आत्मघाती हुनेछ,’ उनले भने, ‘आन्तरिक सम्बन्धसँगै बाह्य सम्बन्ध पनि परिवर्तन भएको छ । अर्धऔपनिवेशिक अवस्थाको अन्त्य भएको छ । नेपाललाई हेर्ने भारतीय दृष्टिकोण पनि फेरिएको छ ।’ भट्टराईले सन् १९५० को सन्धि खारेजीका लागि भारत तयार रहेको जानकारीसमेत महाधिवेशनमा गराएका थिए ।
राष्ट्रियताबारे उपाध्यक्ष श्रेष्ठको बुझाइ परम्परागत भएकाले पुनर्विचार गर्नुपर्ने उनले जनाए । यसको अर्थ राष्ट्रियताको लडाइँ नलड्ने नरहेको जनाउँदै उनले भने, ‘राष्ट्रियताको लडाइँ नलड््ने भनेको होइन, बदलिँदो परिवेशअनुरूप फरक तरिकाले लड््नुपर्छ भन्ने हो । पछिल्लो समय भारतले अप्रत्यक्ष र आर्थिक तरिकाले प्रभाव पार्न खोजेको छ । भारतको शोषणको तरिका फरक भएकाले सामना पनि नयाँ ढंगले गर्नुपर्छ ।’
भट्टराईले बिप्पा, राष्ट्रियताको विषय महाधिवेशन हलबाटै टुंग्याउन जोड दिए । नत्र परिस्थिति गम्भीर हुने उनको भनाइ थियो । उनले दुई सय देशले २५ सयभन्दा बढी बिप्पा गरिसकेको, उत्तर कोरिया र क्युवाले पनि २०/२५ देशसँग बिप्पा गरेको तथ्य पेस गरेका थिए । ‘राष्ट्रियता र बिप्पाको विषय यही महाधिवेशनले टुंगो लगाउनुपर्छ । महाधिवेशनले बिप्पा गर्नुपर्छ भन्ने निर्णय नगरे विदेशी लगानी त आउँदैन नै, भएका स्वदेशी लगानी पनि बाहिरिन्छन्,’ उनको भनाइ थियो ।
‘दाहाल नेताको पनि नेता’
प्रधानमन्त्री भट्टराईले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सबै नेताको पनि नेता भएको बताएका छन् । ‘प्रचण्ड हामी सबै नेताको पनि नेता हो । उहाँ हिजो र आज पनि मेरो नेता हुनुहुन्छ,’ उनले भने, ‘हामीले अध्यक्षलाई स्थापित गर्ने र उहाँले हामीलाई विश्वास गरेर सबैको नेता हुने गर्नुपर्छ ।’
आफूमाथि २०६१ सालमा लाबाङ बैठकबाट कारबाही गरिएको प्रसंग कोट्याउँदै भट्टराईले त्यसबेला पनि आफूले ‘मलाई कारबाही गरे पनि तपाईं मेरो नेता नै हो तर म माथिको कारबाही त्रुटिपूर्ण छ’ भनेको महाधिवेशन हलमा दोहोर्याए । मिल्दा अँगालो हाल्ने र संघर्ष हुँदा मुक्का हान्ने आफूहरूको क्रान्तिकारी तरिका भएको उनको भनाइ थियो ।
अहिले पनि आफू र प्रचण्डबीच फाटो ल्याउने प्रयत्न भइरहेको दाबी गर्दै उनले भने, ‘प्रचण्डविरुद्ध बाबुराम उभ्याउने नीति पार्टीभित्र र बाहिर दुवैतिर छ । त्यसको अन्त्य गर्नुपर्छ । हाम्रो नेता प्रचण्ड नै हो तर एकमनावाद भनेको होइन ।’
जुन अवधिसम्म नेतृत्व रहन्छ, त्यसबेलासम्म उसलाई प्राधिकार सम्पन्न बनाउनुपर्नेमा भट्टराईले जोड दिएका थिए । तर अहिले नै प्रचण्डपथ प्रयोग गर्दा राम्रो नहुने र अध्यक्षको पनि त्यस्तै भनाइ रहेको उनले जनाए ।
दाहालको प्रशंसा गरे पनि उनले देशले ‘नयाँ नेता’ खोजिरहेको पनि उल्लेख गरे । ‘अहिलेसम्म बुद्ध, पृथ्वीनारायण शाह र केही हदसम्म बीपीमा नेतृत्व क्षमता देखिएको छ । तीन करोड नेपाली जनता र अन्तर्राष्ट्रिय विश्वासप्राप्त नयाँ नेता देशले खोजेको छ,’ भट्टराईले भने । त्यस्तो नेता को हुनसक्छ भन्नेबारे चाहिँ उनले बताएन् ।