एकीकृत नेकपा माओवादीको सातौं राष्ट्रिय महाधिवेशन एकसाता लगाएर शुक्रबार बेलुका सकिएको छ । महाधिवेशनले ५३ जनालाई पछि मनोनयन गर्ने गरी प्रचण्डको अध्यक्षतामा १ सय ५१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ । महाधिवेशनले ९८ जनामात्र केन्द्रीय सदस्य चयन गरेको छ । ठूलो तडकभडकका साथ सम्पन्न गरिएको महाधिवेशनले केही वैचारिक एवं संगठनात्मक समस्याहरुलाई थाती राख्दै केन्द्रीय समितिको थाप्लोमा हालेको छ ।
महाधिवेशनले मुलुकलाई राजनीतिक निकासतर्फ डोर्याएको दाबी गर्दै प्रचण्डले प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाएर चुनावमा जाने प्रस्ताव आफूले गम्भीरतापूर्वक राखेको र त्यसलाई विपक्षीले पनि स्वीकार गर्ने दाबी गर्नुभयो ।