एमाओवादीका नव निर्वाचित अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीका लागि प्रधानन्यायाधीशको विकल्प नभएको बताएका छन् ।
चितवन शिवनगरमा केन्द्रीय सदस्य नारायाण दाहालकी आमा स्व. देउरुपा दाहालको श्रद्धाञ्जली सभामा दाहालले पूर्व न्यायाधीश वा वहालवाला न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नुको विकल्प नभएको दोहोर्याए । देशलाई राजनैतिक निकास दिन सबैले मान्न सक्ने र सबैले विश्वास गर्न सक्ने न्यायालय नै भएकाले न्यायाधीशको नेतृत्वमा सरकार गठन गरी यही सरकारले चुनाव गराउनु पर्ने दाहालको भनाइ थियो । ‘यसलाई विरोध गर्ने ठाउँ छैन,’ उनले भने, ‘यसैले देशलाई निकास दिन्छ ।’
राजनैतिक निकास दिन पार्टीको सातौं महाधिवेशनबाट अध्यक्षको हैसियतले निकासको सर्वमान्य सुत्रको रुपमा न्यायालयलाई अघि सारेको दाहालले बताए । दलबीच सहमति नभए आम नेपालीले मान्न सक्ने न्यायालय रहेकाले न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु पर्ने उनको अडान थियो ।
‘राजनैतिक दल र स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन हुन सक्दैन भने न्यायाधीशको नेतृत्वमा सरकार खडा गरी निर्वाचन गरी निकास निकाल्ने काम गर्नुपर्छ,’ दाहाललले भने, ‘न्यायाधीशको नेतृत्वमा सहमतीय सरकार निर्माण हुन सकेन भने देशका लागि दुर्भाग्य हुने छ ।’
अध्यक्षमा निर्वाचित भएपछि दाहाल पहिलोटक कार्यक्रमा सहभागी भएका हुन् । कार्यर्क्रममा पार्टीका नवनिर्वाचित महासचिव एवं पर्यटन मन्त्री पोष्टबहादुर बोगटी, अर्थमन्त्री बर्षमा पुन, केन्द्रीय सदस्य हिसिला यमी लगायतको उपस्थिति थिए ।