एसएलसी पासलाई मात्रै सवारी चालक लाइसेन्स दिईने नियमावली क्षमताभन्दा बढी यात्रु राखेमा लाइसेन्स रद्द गरिने

सरकारले एसएलसी उत्तीर्णले मात्रै सार्वजनिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन पाउने व्यवस्था गर्न लागेको छ । अहिले आठ कक्षा उत्तीर्णले लाइसेन्स लिन पाउने व्यवस्था छ ।
ट्राफिक नियम जानकारी नहुनेले लाइसेन्स लिँदा दुर्घटना बढेपछि यस्तो नियम ल्याउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले ल्याउन लागेको सार्वजनिक सवारी चालक अनुमतिपत्र नियमावलीमा यस्तो व्यवस्था राखिएको हो । मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा एसएलसी उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक शरद पौडेलले बताए । ‘प्रवेशिका वा सोसरह परीक्षा उत्तीर्ण नगरे लाइसेन्स लिन अयोग्य ठहरिन्छ,’ उनले भने, ‘तर यो नियम जारी भएको मितिले तीन वर्षसम्म आठौं कक्षा उत्तीर्णले पनि सार्वजनिक सवारी चालक अनुमतिपत्रका लागि दरखास्त दिन सक्नेछन् ।’ विभागले तयार गरेको नियमावली भौतिक योजना, निर्माण यातायात मन्त्रालयले अन्तिम रूप दिएर कानुन मन्त्रालयमा पठाएको छ । कानुन मन्त्रालय मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारीमा छ । मन्त्रिपरिषद्ले पास गरेपछि नियमावली लागू हुन्छ ।
नियमावलीमा २३ वर्ष पुगेपछि मात्रै ठूला सवारीको लाइसेन्स लिन पाउने व्यवस्था छ । हलुका सवारी चालकको लागि १८ वर्ष र मझौला र ठूला सवारी चालक २३ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको जानकारी पौडेलले दिए । यसअघि ठूला सवारीको लाइसेन्स लिन २१ वर्ष भए हुन्थ्यो । प्रशिक्षण केन्द्रबाट ड्राइभिङको सैद्धान्तिक ज्ञानको २५ घन्टा र व्यावहारिक ज्ञानको २५ घन्टा तालिम लिएको हुनुपर्ने पनि नियमावलीमा उल्लेख छ ।
सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नियमावली ल्याउन लागेको पौडेलले बताए । ‘अन्य सवारी चालकभन्दा सार्वजनिक सवारी चलाउने व्यक्ति बढी जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘त्यसैले उसका लागि मात्रै छुट्टै नियमावली तयार भएको हो ।’
विद्यमान नियम सबैलाई एउटै छ । यसमा लाइसेन्स खारेज हुने प्रावधानलाई प्राथमिकता दिइएको छैन । तर नयाँ नियमावलीले स्वास्थ्य परीक्षणलाई पनि कडाइ गरेको छ । नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकबाट बढीमा १५ दिनभित्रको स्वास्थ्य प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशाला र मनोचिकित्सकको प्रतिवेदन पनि पेस गर्नुपर्ने भनिएको छ । लाइसेन्सको दरखास्त दिने बेलामा पेस गरेको कागजपत्र गलत देखिए पाँच वर्षसम्म सवारी चालक अनुमतिपत्र प्रदान गर्न निषेध गर्ने भएको छ ।
अहिलेको नियममा लिखित, ट्रायल परीक्षा उत्तीर्ण गरेपछि लाइसेन्स दिने व्यवस्था छ । तर नयाँ व्यवस्थाअनुसार सडक परीक्षण पनि पास गर्नुपर्छ । सडक परीक्षणमा हलुका सवारी चालकको लागि २ किलोमिटर, मझौला र भारी सवारी चालकका लागि ३ किलोमिटर सडक परीक्षण उत्तीर्ण गर्नुपर्नेछ । सडक परीक्षणमा सवारी साधनको पार्टपुर्जाको प्रयोग, सुरक्षित यात्रा गर्दा अपनाउनुपर्ने कुरा, उकालो-ओरालोमा कसरी ब्रेक लगाउने ? ट्राफिक संकेतको प्रयोग र ज्ञानको जानकारी लगायत हेर्ने उल्लेख छ ।  ट्राफिक चिह्न, बत्ती इसारा र सडक प्रयोगकर्ताले दिएको संकेत पालना गर्ने, ट्राफिक चिह्न र बत्ती नभएको स्थानका बाटो काट्ने पैदल यात्रुलाई प्राथमिता दिनुपर्नेलाई सडक परीक्षणमा हेरिनेछ । पैदल यात्री, साइकल यात्रीलगायत अन्य सडक प्रयोगकर्ताको सुविधा र सुरक्षालाई ध्यान दिने कुरालाई प्राथमिकता दिइएको छ । ‘सैद्धान्तिकभन्दा पनि व्यावहारिक रूपमा हेर्छौं,’ पौडेलले भने । सडक परीक्षण यातायात व्यवस्था कार्यालयले तोकेको सवारी साधन मात्र प्रयोग गर्न पाइनेछ ।
सैद्धान्तिक र व्यावहारिक परीक्षा उत्तीर्ण गरेर लाइसेन्स लिनुअघि यातायात व्यवस्था कार्यालयले दिने सवारी सुरक्षा, व्यक्तिगत र सामूहिक आचरणको तालिमसमेत लिनुपर्नेछ । तालिम लिएकालाई कार्यालयले प्रमाणपत्र दिनेछ ।
परीक्षा समितिबाट सार्वजनिक सवारी चालक अनुमतिपत्र प्रदान गर्न सिफारिस भएकालाई एक हजार दस्तुर लिई एक वर्ष परीक्षणकालीन अनुमतिपत्र प्रदान गरिनेछ । उक्त अवधिमा लामो दूरीका सवारी साधन चलाउन पाइने छैन ।
अहिले लाइसेन्स लिइसकेकाले पनि दुई वर्षभित्र नयाँ नियमावलीअनुसार प्रक्रिया पूरा गर्नुपर्ने महानिर्देशक पौडेलले बताए । ‘दुई वर्षभित्र नियमावलीबमोजिमको प्रक्रिया पूरा गरी पुनः अनुमतिपत्र नलिएमा त्यस्तो अनुमतिपत्र स्वतः खारेज हुन्छ,’ उनले भने ।
सरकारले ल्याउन लागेको सार्वजनिक चालक अनुमति पत्र नियमावलीमा चालकलाईर् जिम्मेवार बनाउन खारेज हुने विभिन्न अवस्था राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक शरद पौडेलले बताए । नियमावलीमा सवारी साधन, यात्रुको सामान र मालवाहक सवारीमा रहेको मालवस्तु चोरी गरेमा, यात्रुमाथि भौतिक आक्रमण गरेमा, निषेधित वस्तु ओसारपसार गरेमा, यात्रुको अपहरण गरेमा, तोकिएभन्दा बढी तौलको मालवस्तु राखेर साधन चलाएमा लाइसेन्स खारेज हुन सक्ने व्यवस्था छ । म्ाादक पदार्थ, लागूऔषध प्रयोग गरी साधन चलाएमा, विरोध, हड्ताल वा कुनै बहाना बनाएर सार्वजनिक स्थलमा आफूले चलाएको सवारी साधन राखेमा, आफ्नो अनुमतिपत्र अरूलाई प्रयोग गर्न दिएमा, अवधि सकिएको अनुमति प्रयोग गरी सवारी चलाएमा पनि लाइसेन्स रद्द हुन सक्छ । सीमितभन्दा बढी गतिमा सवारी साधन चलाएमा, मालवाहक सवारीको क्याबिनमा र यात्रुवाहक सवारी साधनमा तोकिएभन्दा बढी यात्रु राखेर सञ्चालन गरेमा पनि लाइसेन्स रद्द हुने नियमावलीमा उल्लेख छ ।
आफ्नो सवारीमा नचढेको भन्दै अभद्र व्यवहार गरेमा र सवारी साधन चलाइरहेको अवस्थामा धूमपान र मोबाइल फोन प्रयोग गर्ने, समयमा यात्रा टुंग्याउने विषयमा लापरबाही गरे पनि लाइसेन्स खारेज हुन सक्छ । रुट इजाजत नभएको ठाउँमा चलाएमा र सार्वजनिक सवारीमा चाहिने ब्लुबुक, चालक अनुमतिपत्र, बिमा र सवारी जाँचको प्रमाणपत्र साथमा नराख्ने चालकको लाइसेन्स रद्द गर्ने विभागले जनाएको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रमाणित भएमा अनुमतिपत्र खारेज गरी त्यस्तो चालकलाई कालोसूचीमा राख्ने व्यवस्था उल्लेख गरिएको छ ।