सरकारले प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा सञ्चालन हुँदै आएको सत्तारूढ माओवादीको वैचारिक तथा नीतिगत प्रशिक्षणको कार्य गर्ने माक्र्ससिस्ट स्टडी सेन्टर (मार्क्सवादी अध्ययन प्रतिष्ठान) लाई ६० लाख रुपैयाँ सहायता गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री भट्टराईको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मार्क्सवादी अध्ययन प्रतिष्ठानलाई ६० लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए ।
माओवादी उपाध्यक्ष भट्टराईले प्रधानमन्त्री हुनुअघिसम्म माओवादीको विचारधारालाई अघि बढाउन प्रतिष्ठान सञ्चालन गर्दै आएका थिए । उनी प्रधानमन्त्री भएपछि हाल प्रतिष्ठानको संयोजक माओवादीका केन्द्रीय सदस्य शशि शेरचन (सोनाम साथी) छन् ।
सरकारले राज्यको ढुकुटीबाट कुनै एउटा पार्टी विशेषको मात्र वैचारिक तथा नीतिगत प्रशिक्षणको कार्य गर्ने संस्थालाई आर्थिक सहायता दिन नपाइने कानुनी व्यवस्थाविपरीत माओवादी नेतृत्वको मन्त्रिपरिषदले माक्र्सवादी अध्ययन प्रतिष्ठानलाई आर्थिक सहायता दिने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री भट्टराईले प्रमुख दलहरूबीचको सहमतिमा राष्ट्रिय सरकार गठन हुने सम्भावना प्रवल हुँदै गएको जानकारी गराउँदै नयाँ सरकार गठनका लागि बाटो खोल्न सत्ता त्यागको लागि तयार रहन सबै मन्त्रीलाई आग्रह गरेका थिए ।
‘जेठभित्रै संविधानसभाको चुनाव गराउन बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा नयाँ सरकार गठन गर्ने विषयमा प्रमुख दलहरूबीच सहमति हुन लागेको छ । सहमति हुनासाथ नयाँ सरकार गठनका लागि हामी सबै सत्ता छाड्ने तयारीमा रहनुपर्छ’ प्रधानमन्त्रीको भनाइ उद्धृत् गर्दै भने ।
महिला सञ्जाललाई ३० लाख
सरकारले महिला नेतृत्व विकासका लागि कार्यक्रम सञ्चालन गर्न अन्तर पार्टी महिला सञ्जाललाई ३० लाख रुपैयाँ सहायता दिने निर्णय गरेको छ ।
नीति अध्ययन प्रतिष्ठान गठन
मन्त्रिपरिषदले पूर्वसचिव श्रीराम पौडेलको अध्यक्षतामा नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ । पूर्व एआईजी श्रीपुरुष ढकाल र प्राध्यापक महेन्द्र सिंह सदस्य रहेको प्रतिष्ठान गठन गरेको हो ।
अघिल्लो मन्त्रिपरिषद्को बैठकले सरकारले चाल्नुपर्ने नयाँ र सुधार गर्नुपर्ने नीतिका बारेमा आवश्यकताअनुसार सुझाव दिइरहने स्थायी ‘थिंक ट्यांक’ का रूपमा नीति अनुसन्धान प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो ।
भारतीय मुख्यसचिवले नेपाल भ्रमण गर्ने
भारतीय मुख्यसचिव पुलक चटर्जीले नेपाल भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद बैठकले मुख्यसचिव लीलामणि पौडेललाई भारतका मुख्यसचिव चटर्जीलाई नेपाल भ्रमणको निम्तो दिन स्वीकृति दिने निर्णय गरेको छ ।
रामराजाको नाममा सडक
मन्त्रिपरिषद बैठकले नारायणघाट-मुग्लिन सडक खण्डलाई रामराजाप्रसाद सिंह लोकमार्ग नामामकरण गरेको छ ।