उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य सहितको एमालेको बैठकद्वारा प्रधानन्यायाधीशलाइ प्रधानमन्त्री बनाउने प्रस्ताव अस्वीकार

नेकपा एमालेले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावमा जान नसकिने निर्णय गरेको छ ।
उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य सहितको एमालेको बैठकले प्रधानन्यायाधीशलाइ प्रधानमन्त्री बनाउने प्रस्ताव अस्वीकार गरेको हो ।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु लोकतन्त्रको आधारभूत सिद्धान्त विपरित हुने बैठक पछि एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताउनुभयो ।
न्यायालयलाई ध्वस्त पार्न एकीकृत माओवादीले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएको एमालेको ठहर छ ।
त्यस्तै दलको भूमिका निषेध हुने गरी जनाधार नभएका स्वतन्त्र व्यक्तिलाइ पनि प्रधानमन्त्री बनाउन नसकिने एमालेले जनाएको छ । राजनीतिक दलको व्यक्तिले नै सरकारको नेतृत्व गर्नुपर्नेमा एमालेले जोड दिएको छ ।