आफन्त बाटै चिया पसले दम्पत्तिको हत्या, हत्या संलग्न नाति पक्राउ

राजधानीको ज्याठाका चिया पसले दम्पत्ति रामबहादुर खड्का र कल्पना हत्या उनकै आफन्तले गरेको प्रहरी अनुसन्धानले देखाएको छ। नाताले नाति पर्ने टकबहादुर खड्कालाई खड्का दम्पत्तिको हत्या गरेको प्रहरीले बताएको छ।
साइकलमा पानी ओसार्ने काम गर्दै आएका टकबहादुरलाई प्रहरीले पक्राउ गरी शुक्रबार घटना बारे सार्वजनिक जानकारी गराएको छ। महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गरेको अनुसन्धानले टकबहादुरको स्पष्ट संलग्नता देखेपछि हिजो महांकालबाट पक्राउ गरेको थियो।
महानगरीय प्रहरीय परिसर काठमाडौंका प्रमुख एसएसपी रणबहादुर चन्दले सम्पत्तिका लागि हत्या भएको जानकारी दिए। हत्या भएको राति टकबहादुर र उनका सहयोगी प्ररकाश खड्का दम्पत्तिकै कोठामा सुतेका थिए। खाना खाएर सबै जना सुतेपछि राति १ बजे उठेर खुकुरी प्रहार गरी उनीहरूले खड्का दम्पत्तिको हत्या गरेका थिए। त्यसपछि ५० हजार रुपैयाँ नगद, सुनको मुन्द्र, झुम्का, ब्रासलेट, तिलहरी, औंठी र मोबाइल सेट लिई कोठामा ताल्चा लाएर भागेका थिए। कल्पनाले रामेछापको गाउँ घुम्न जाँदा गहना लाएको देखेपछि अकुत सम्पत्ति भएको अनुमानमा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ।
भोलिपल्ट बिहान रामबहादुर चिया पसल नफर्केपछि उनका भाइले प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई ताल्चा फुटाएर ढोका खोल्ने काममा टकबहादुरले सघाएका थिए। पोस्टमार्टमपछि उनी मलामी समेत गएका थिए। अनुसन्धानमा सघाए पनि  घटनाको प्रकृति केलाउँदा आफन्त वा चिनेजानेको मान्छे नै हत्यामा संलग्न भएको निष्कर्षमा प्रहरी पुगेको थियो।
टकबहादुरका गतिविध शंकास्पद लागेपछि उनलाई पक्राउ गरी अनुसन्धान गर्ने निष्कर्षमा प्रहरी पुगेको थियो। हिजो दिउसो पक्राउ परेका उनले घटनामा संलग्न रहेको बयान प्रहरीलाई दिएका छन्। हत्यामा प्रकाश नाम गरेको अर्को व्यक्तिले पनि सघाएको उनले बताएका छन्।