प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन चार दल सहमत/सहमतिको मस्यौदा तयार पार्न कार्यदल गठन

प्रमुख चार दल प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न सहमत भएका छन् ।
शनिबार शीलत निवासमा राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा भएको छलफलमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको छलफलमा रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सैद्धान्तिक सहमति भएको हो ।
सरकार गठनसहितका विषयमा प्याकेजमा सहमतिका लागि चार दलबाट २/२ जना रहेको कार्यदल गठन गरिएको छ । कार्यदलमा एकीकृत नेकपा माओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसबाट विमलेन्द्र निधी र मिनेन्द्र रिजाल, एमालेबाट भीम रावल र अग्नि खरेल तथा मधेसी मोर्चाबाट जितेन्द्र देव र हृदयेश त्रिपाठी रहेका छन् ।
कार्यदलले जेठ १५ भित्र चुनाव गर्ने आधार, सरकार गठन र दैनिक प्रशासन सञ्चालन विधी र संरचना लगायतका विषयमा सुझाव पनि दिनेछ । कार्यदलले सहमतिको मस्यौदा तयार पारेपछि भोलि २ बजे बस्ने शीर्ष नेताहरुको बैठकले टुङ्गो लगाउने छ ।