प्रधानन्यायाधीसको नेतृत्वमा अन्तिरम चुनावी सरकार गठन गर्न सहमत भएका चार दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीसबाट सहयोगको अपेक्षा गरेको बताएका छन् । साथै उनीहरुले प्रधानन्यायाधीस खिलराज रेग्मीको असन्तुष्टी सम्बोधन गरिनेसमेत बताएका छन् ।
यसअघि मंगलबार साँझ नै रेग्मीलाई भेट्ने बताइएको भएपनि मंगलबार साँझै भेट्ने की बुधबार बिहान भन्ने कुरामा भने अझै निर्णय नभइसकेको बताइएको छ । यसअघि मंगलबार बिहान प्रधानमन्त्री र प्रधानन्यायाधीसबीच भएको छलफलमा रेग्मीले सोमबार कार्यदलले बनाएको प्रस्तावपत्रको भाषामा असन्तुष्टी ब्यक्त गरेका थिए ।
बैठकमा सहमति गरेपछि काँग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रधानन्यायाधीसको केही विषयमा चासो रहेकोले आफुहरुले त्यसको सम्बोधन गर्ने बताए । ‘हामीलाई बिश्वास छ, उहाँले हाम्रो अनुरोध स्वीकार गर्नु हुनेछ’ उनले भने ।
त्यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले पनि दलहरुबीच चुनावको लागि अघि बढ्ने सहमति भएको उल्लेख गर्दै त्यसको लागि प्रधानन्यायाधीसले सहयोग गर्ने विश्वास लिएको बताए । मधेसी मोर्चाका संयोजक विजय गच्छेदारले पनि आफुहरुलाई बाहिर आएको हल्ला बारे थाहा नपाएको बरु प्रधानन्यायाधीसले सहयोग गर्ने अपेक्षा राखेको बताए ।
यसअघि प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउने विषयमा मधेसी मोर्चासहित एमाओवादी, काँग्रेस र एमालेका शीर्ष नेताबीच नयाँ बानेश्वरस्थित सेना समायोजन बिशेष समितिको बैठकमा सहमति भएको थियो । त्यहीबाट चारै दलका नेता प्रधानन्यायाधीसलाई भेट्न जाने भनिएपनि कहिले भेट्ने भन्ने बारेमा टुङ्गो लागेको छैन ।
बैठकपछि बाहिरिएका एमाले उपाध्यक्ष बामदेव गौतमले चार दलका अध्यक्षबीच सहमति भएपछि आजै प्रधानन्यायाधीशसँग भेट गर्ने जानकारी संवाददाताहरुलाई दिएका थिए ।
यसअघि शीर्ष बैठकमा केही विवादित विषयलाई अन्तिम रुप दिने जिम्मा चार दलका नेतालाई दिएर दोस्रो र तेस्रो तहका नेताहरु बाहिरिएका थिए । एमाओवादी नेता कृष्णबहादुर महराले आजै सहमति हुने विश्वास व्यक्त गरे ।
प्रमुख दलहरुबीच सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोग, नागरिकता, मतदाता नामावलीमा सहमति भएको थिएन ।
बैठकमा प्रधानन्यायाधीश खिलराज रेग्मीको नयाँ सरकारप्रतिको धारणाबारे पनि छलफल भएको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । चार दलका नेताहरुको आग्रहमा प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानन्यायाधीशसँग कुरा गरेका थिए ।
प्रमुख चार शक्तिबीच मंगलबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा छलफल भएको थियो । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोग, नागरिकता, मतदाता नामावली र समायोजनमा गएका पूर्वलडाकुको दर्जाबारे छलफल भएको थियो ।