दलका शीर्ष नेतालाई प्रधानन्यायाधीशले भेट्न मानेन्

– जीवन भण्डारी 
मूख्य चार दलले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएर मुलुकको अहिलेको संकट समाधान गर्न खोजे पनि प्रधानन्यायाधीश रेग्मीले भने ती दलका शीर्ष नेतालाई भेट्न अस्वीकार गर्नुभएको छ ।
 
नेताहरूले हिजैदेखि भेट्न खोजे पनि अनेक बहाना देखाउँदै प्रधानन्यायाधीश रेग्मीले दलका नेताहरूसँग छलफल गर्न नमान्नुभएको हो । बरु दलका नेता भेट्न आउने थाहा पाएपछि उहाँले प्रधानमन्त्री बाबुराम भट्टराईलाई आफ्नो निवासमा बोलाएर प्रधानमन्त्री बन्नका लागि आफ्ना शर्त र असन्तुष्टी जानकारी गराउनुभयो ।
आफ्ना शर्त पूरा नगर्दासम्म भेट्न नसक्ने बताएर हिजो नेताहरूलाई फर्काउनुभएका रेग्मीले आज भने मुद्दाको बहाना बनाउनुभएको छ । नेताहरूले आज बिहान भेट्न खोजे पनि उहाँले अहिलेसम्म भेट्न दिनुभएको छैन ।
 
सर्वोच्च अदालतमा आफूविरुद्ध परेको मुद्दाको टं्गो नलागेसम्म दलका नेताहरूलाई नभेट्ने उहाँले बताउनुभएको छ । अधिवक्ता भरत जंगमले केही दिनअघि प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नमिल्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभको थियो ।
हिजो पेशीमा राखिएको रिट सुनुवाईका लागि आलो नआएकाले सुनुवाई हुन सकेको थिएन । आज त पेशीमा पनि परेको छैन । आगामी जेठमा चुनाव हुन नसके स्वत: पद छाडनुपर्ने शर्तसहितको दलहरूको प्रस्तावमा प्रधानन्यायाधीश रेग्मीले असहमति जनाएपछि एक पटकका लागि समय थप्न सक्ने गरी दलहरूले उहाँलाई मनाउन लागेका हुन् ।
यसअघि दलहरूले आगामी जेठभित्र चुनाव हुन नसके १५ दिनभित्र उच्चस्तरीय राजनीतिक परामर्श समितिको सिफारिसमा अर्काे प्रधानमन्त्रीको नाम सिफारिस हुनासाथ स्वत पदमुक्त हुने व्यवस्था राखेका थिए ।