प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा आन्तरिक विवाद भएपछि नेकपा एमालले बोलाएको आकस्मिक स्थायी कमिटी बैठक अध्यक्षको असहमतिपछि स्थगित

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा आन्तरिक विवाद भएपछि नेकपा एमालले बोलाएको आकस्मिक स्थायी कमिटी बैठक स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
स्थायी कमिटी बैठक अध्यक्षको सल्लाहअनुसार बोलाउनु पर्ने प्रावधान भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलले बैठक आह्वान गर्नुभएको थियो । अध्यक्ष झलनाथ खनालले असहमति जनाएपछि बैठक स्थगित भएको हो ।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने विषयमा केन्द्रीय समितिले प्रस्ताव पारित गरेदेखि नै एमालेभित्र देखिएको विवाद वरिष्ठ नेता माधवकुमार नेपाल विदेश भ्रमणबाट फर्किएसँगै विवाद थप चर्किएको छ ।
केन्द्रीय समितिका बहुमत सदस्यको असहमति हुँदाहँुदै पनि नेतृत्वले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सहमति जनाएको भन्दै एमालेभित्र विवाद देखिएको थियो । प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व गर्न दिन नहुने विषयमा हिजो नेता नेपाल, महासचिव पोखरेल र सचिव शंकर पोखरेलले छलफल गरेका थिए ।
एमाले स्थायी कमिटीमा १३ जना सदस्य छन् ।