प्रमुख चार दलका नेताहरु प्रधान्यायाधीश खिलराज रेग्मीलाई भेट्न गएका छन् । शीर्ष दलको निर्णयअनुसार नेताहरु रेग्मीलाई सरकारी निवास बालुवाटारमा भेट्न गएका हुन् ।
आफूलाई प्रधानमन्त्री बनाउन दलहरुले गरेको सहमतिको भाषामा प्रधानन्यायाधीश खिलराज रेग्मीले असन्तुष्टि व्यक्त गरेपछि शीर्ष नेताहरु उनलाई मनाउन गएका हुन् । दलहरुले रेग्मीको नेतृत्वको चुनावी सरकार जेठमा चुनाव गराउन नसके स्वत खारेज हुने सहमति गरेपछि उनी असन्तुष्ट बनेका थिए । दलहरुले कुनै कारणवश जेठमा चुनाव हुन नसके पनि उनैको नेतृत्वलाई निरन्तरता दिएर चुनाव गराउने आश्वासन दिएर रेग्मीलाई मनाउने बुझिएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका तर्फबाट उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले रेग्मीलाई भेटेर प्रधानमन्त्रीका लागि मनाउने तयारी गरिरहेका छन् ।
पछिल्ला समय आफूलाई प्रधानमन्त्री बनाउने शीर्ष दलका नेताले निर्णय गरेपछि सोही दलभित्रका केही नेताले विरोध गर्नु, आफूलाई प्रधानमन्त्री नभनेर अध्यक्ष भनी सम्बोधन गर्ने गरी दलहरुले सहमति गर्नु र आफू भन्दा माथि रहने राजनीतिक संयन्त्र राखिने निर्णय गर्दा रेग्मी असन्तुष्ट बनेका हुन् ।
उनले अप्रत्यक्षरुपमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भए आफूले रोजेअनुसारका व्यक्तिहरु सरकारमा सामेल गराइनुपर्ने र सीमित अधिकार मात्रै दिएर खुम्च्याउन नहुने धारणा राखेर आफूले भने अनुसार नभए सरकारको नेतृत्व नगर्ने धारणा निकटस्थमार्फत् राख्दै आएका थिए ।