सरकारले राजधानीमा चल्ने सवारी साधनमा प्रयोग हुने हरियो स्टिकर परिवर्तन गर्ने भएको छ ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले राजधानीमा प्रदूषण मात्राको परिमाणसमेत नयाँ कायम गरी नयाँ स्टिकर लागू गर्ने तयारी गरेको छ ।
नयाँ प्रदूषण मापदण्डमा पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनले फ्याँक्ने हानिकारक कार्बन मोनोअक्साइडको सीमा र तिनले फ्याँक्ने धुवाँको घनत्व -इस्मोक डेन्सिटी) को मात्रासमेत पहिलाको भन्दा घटाइनेछ । मन्त्रालयको वातावरण महाशाखा प्रमुख सहसचिव शंकरप्रसाद अधिकारीले प्रदूषण मापदण्डलाई समयानुकूल बनाएर सवारी साधनमा नयाँ ‘हरियो स्टिकर’ लागू गर्न लागिएको जानकारी दिएका छन । त्यसको अध्ययनका लागि मन्त्रालयमा प्राविधिक समितिसमेत तयार गरिएको छ ।
‘राजधानीमा वायुप्रदूषणको अवस्थामा सुधार ल्याउन स्टिकर अपग्रेड गर्न लागेको समन्धित निकायले जनाएको छ / ‘त्यसो गर्दा पुराना सवारी साधन स्वतः कानुनी दायरामा समेटिने ।’ राजधानीमा चल्ने पुराना सवारी साधन वायु प्रदूषणका मुख्य स्रोत मानिन्छन् । राजधानीमा मात्रै मोटरसाइकटलसहित करिब ८ देखि १० लाखको हाराहारीमा सवारी साधन गुड्छन् ।
राजधानीको वायु प्रदूषणमा सुधार ल्याउनकै लागि सरकारले गत असोजमा वायुको गुणस्तरसम्बन्धी मापदण्ड तोक्नुका साथै युरो ३ का सवारी साधनलाई मात्रै आयात गर्नेगरी मापदण्ड लागू गरिसकेको छ । युरो ३ मापदण्डका सवारी साधनले फ्याँक्ने धुवाँजन्य ग्यासमा कार्बनमोनोअक्साइडको मात्रा ०.३ प्रतिशत तोकिएको छ ।
अहिलेसम्म यातायात व्यवस्था ऐन २०४९ अनुसार मापदण्ड बनाएर सवारी साधनमा प्रदूषण स्टिकर जारी गरिएकामा अबदेखि वातावरण संरक्षण ऐन २०५४ अनुसार प्रदूषण मापदण्ड बनाउन लागिएको हो । मन्त्रालयले ऐन कडाईका साथ लागू गर्ने आफ्नो दायित्वबोध गर्दै नयाँ मापदण्ड कायम गर्न लागेको हो ।
सरकारले २०५४ को माघ १ देखि पुराना चारपाङ्ग्रे सवारीसाधनले फ्याँक्ने धुवाँजन्य ग्यासमा -सन् १९८० मा उत्पादन भएका) कार्बन मोनोअक्साइडको मात्रा अधिकतम ४.५ तोकेको थियो भने, १९८१ पछि उत्पादन भएकाका हकमा तीन प्रतिशत तोकेको थियो । त्यस्तै, तीन पाङ्ग्रे १९९१ सम्म उत्पादन भएका सवारीसाधनका हकमा हानिकारक कार्बन मोनोअक्साइडको मात्रा ४.५ प्रतिशत तोकिएको थियो । अब तोकिने मापदण्डमा हानिकारक ग्यासको मात्रा घटाइनेछ । त्यसो गर्दा बढी प्रदूषण गर्ने सवारीसाधनले गुड्न पाउने छैनन् ।