स्थानीय निर्वाचनका लागि मन्त्रालयले विशेष पहल गर्ने आश्वासन दिएपछि बुधवारदेखि आन्दोलनमा उत्रिएका गाविस सचिव र कर्मचारीहरुले विहीवार अपरान्ह आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
उपप्रधान एवं संघिय मामिला तथा स्थानिय विकास मन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख चार दल, दलहरुको विशेष कार्यदलमा स्थानिय निर्वाचनको प्रस्ताव लैजाने प्रतिवद्धता जनाएका हुन् ।
मन्त्रालयले मुख्य माग सम्बोधन गरेपछि आन्दोलनका कार्यक्रम स्थगित गरेको गाविस कर्मचारी संघका अध्यक्ष श्रीराम आचार्यले बताए ।
उनका अनुसार मन्त्रालय आफैले राजनीतिक सहमती जुटाई स्थानिय निर्वाचनको विशेष प्रस्ताव लैजाने प्रतिवद्धता जनाएको छ ।
यसैगरी गाविसका कर्मचारीको वृत्तिविकास र सेवा सुविधावारे अध्ययन गर्न सहसचिवको संयोजकत्वमा पाच सदस्यिय समिती गठन गर्ने सहमती पनि भएको छ ।
समितिले अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ ।
स्थानीय निर्वाचन, कर्मचारीहरुको वृत्तिविकास लगायतका माग राखी गाविस सचिव र कर्मचारीले बुधवारदेखि जिविसमा भेला भएर आन्दोलन थालेका थिए ।
रासस