नरेन्द्र मानन्धर
काठमाडौं । नेपाल बार एशोसिएशन र नागरिक समाजका अगुवाहरुले प्रधानन्याधीशलाई प्रधानमन्त्री नबनाउन राष्ट्रपति डा. रामवरण यादवको ध्यानाकर्षण गराएका छन् । आज बार एशोसिएशनको टोलीले राष्ट्रपतिलाई भेटेर प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउनु असम्वैधानिक हुने भन्दै ध्यानाकर्षण गराएको हो ।
बारले शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुनेगरी आउने कुनै पनि प्रस्ताव नस्वीकार्न समेत राष्ट्रपतिलाई आग्रह गरेको छ ।
संविधान संशोधन गरेर पनि प्रधानन्याधीशको नेतृत्वमा सरकार बनाउन नमिल्ने भन्दै बारले असम्वैधानिक तवरबाट आउने कुनै पनि प्रस्तावलाई स्वीकार नगर्न राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो ।
राष्ट्रपतिसँगको भेटपछि संचारकर्मीसँग कुरागर्दै बार एशोसिएशनका अध्यक्ष हरिकृष्ण कार्कील राष्ट्रपति डा. रामवरण यादवले असम्वैधानिक तवरबाट आउने कुनै पनि प्रस्ताव स्वीकार नगर्नेमा आश्वस्त पारेको जानकारी दिए ।
आजै नागरिक समाजका अगुवाहरुले प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउन नमिल्ने भन्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएका छन् । प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउने दलहरुको सहमति असम्बैधानिक र अनुचित भएको भन्दै नागरिक समाजका सदस्यहरुले राष्ट्रपति कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् ।
उनीहरुले अन्तर्राष्ट्रिय समूदायलाई समेत प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने दलहरुको सहमतिलाई समर्थन नगर्न समेत आग्रह गरेको जनाएका छन् ।