राष्ट्रपति ह्यूगो चाभेजको ५८ बर्षको उमेरमा निधनपछि भेनेजुयलाभर शोक


 

भेनेजुयलाका राष्ट्रपति ह्यूगो चाभेजको ५८ बर्षको उमेरमा गएराति निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट ग्रसित उहाँको स्थानीय समय अनुसार मंगलवार साँझ ४:२५ बजे निधन भएको उपराष्ट्रपति निकोलस मदुरोले घोषणा गर्नुभएको हो । उहाँको निधनमा भेनेजुयलाभर शोक छाएको छ । सर्वसाधारण नागरिक आफ्ना प्रिय नेताको निधनको खबरले निकै दूःखी देखिएका छन् ।
 
गत बर्षदेखि क्यान्सरबाट पीडित उहाँको पछिल्लो समय श्वास प्रश्वासमा समस्या देखिएको थियो । क्यूवामा निकै पटक क्यान्सरको शल्यक्रिया गरिएका उहाँ लामो समयदेखि सार्वजनिक रुपमा देखिनु भएको थिएन । १४ बर्षदेखि भेनेजुयलाको राष्ट्रपति रहनुभएका उहाँ लोकप्रिय नेता हुनुहुन्थ्यो । खासगरी अमेरिकाको कट्टर विरोधी छबी बनाउनु भएका समाजवादी नेता चाभेजले गत अक्टोबर महिनामासम्पन्न राष्ट्रपति चुनावमा पनि तेस्रो कार्यकालका लागि जीत हासिल गर्नुभएको थियो ।
 
यो चुनावबाट अर्को छ वर्ष सत्ता सञ्चालनका लागि जनादेश पाएपनि उहाँले सपथ नै लिनसक्नुभएन । ल्याटिन अमेरिकी क्षेत्रकै निकै विवादास्पद तर चर्चित नेता चाभेजले सन् १९९२ मा सैनिक कू गर्ने असफल प्रयास समेत गर्नुभएको थियो । ६ बर्षपछि अर्थात १९९८ मा भेनेजुयलामा भएको राजनीतिक उथलपुथलमा जनमतसहित उहाँ पहिलोपटक राष्ट्रपति बन्नुभयो ।

सन् १९९९ पछि भेनेजुयलामा भएको राष्ट्रपति चुनावमा उहाँ लगातार निर्वाचित हुँदै आउनुभएको थियो । उहाँको निधनप्रति बिश्व समुदायले शोक व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओवामाले भेनेजुयलाका सामु कठीन क्षण आएको भन्दै दूःखको यस घडीमा अमेरिका भेनेजुयली जनताको साथमा रहेको जनाउनुभएको छ ।
 
यस्तै बेलायत, अर्जेन्टिना, चिली र इक्वेडरले पनि उहाँको निधनप्रति समवेदना प्रकट गर्दै शोक सन्देश पठाएका छन् । उता भेनेजुयली सैनिकविरुद्ध जासूसी गरेको आरोपमा दुई अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको पनि उपराष्ट्रपति निकोलस मदुरोले जानकारी दिनुभएको छ । देशमा शान्ति बहाली गर्न देशभर सशस्त्र सेनाको तैनाथी गरिएको छ । सेनाले पनि संकटको यस घडीमा वर्तमान सरकारप्रति पूर्ण वफादार रहेर काम गर्ने प्रष्ट गरिसकेको छ ।

 

Agencies