काठमाडौं । मुख्य चार दलले प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न आज प्याकेजमा सहमति गर्ने नेताहरुले बताएका छन् ।
सहमतिको टुंगो लगाउन हिजो बैठक बसेका चार दलका नेताहरुले आज अन्तिम सहमति गर्ने दाबी गरेका हुन् ।
सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको शिर्ष नेताहरुको वैठकमा मतदाता नामावली, नागरिकता, सत्यनिरुपण तथा मेलमिलाप आयोग लगायतका विषयमा लगभग सहमति भएको र आज कानुनी परामर्श गरी सहमतिको भाषा मिलाउने नेताहरुले बताएका छन् ।
तर माओवादी लडाकुको दर्जा निर्धारणबारे भने अझै सहमति हुन नसकेको स्रोतले जनाएको छ । आज विहान बस्ने कार्यदलको बैठकले विवादका बुंदामा सहमतिको मस्यौदा तयार पार्ने र आजै बस्ने शीर्ष नेताको बैठकले सहमतिलाई अन्तिम रुप दिने बताईएको छ ।
– RSS