– शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा क्रियाशिल ६ वटा महिला संगठनहरुले आज संयुक्त रुपमा १०३ औ अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् ।
महिला संगठनहरुद्धारा सन्धिखर्कको शान्ती बँगैचामा आयोजित जनसभामा मन्तव्य राख्दै महिला नेतृ तथा नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य पवित्रा पौडेलले मुलुकमा लोकतन्त्र आएपनि सामाजिक विभेद र संस्कारमा कुनै परिवर्तन नआएको बताउँदै लैंङ्गिक विभेद र महिला हिंसाको अन्त्यको लागि सबै महिलाहरुले एक जुट भएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै एनेकपा माओवादीका जिल्ला संयोजक गोविन्द के.सी. प्रकाश, नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमाले नेता जनार्दन खनाल र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव थम्मन के.सी.ले महिला मुक्तिका लागि चेतना अभिवृद्धि गर्नुपर्ने बताउँदै महिला हिंसाका पिडकलाई कडा भन्दा कडा कार्वहिको माग गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै अनेम संघ क्रान्तिकारीका केन्द्रीय सदस्य छम कुमारी खनाल चिनारी, नेपाली कांग्रेसकी नेतृ लक्ष्मी श्रेष्ठ, अनेम संघका केन्द्रीय सदस्य बिजुला रायमाझी, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष शकुन्तला रानाले महिलामाथि हुने थिचो मिचोको अन्त्य नभएसम्म महिलाहरु चुप लागेर नबस्ने बताउनु भयो ।
राधा आचार्यको अध्यक्षता र कमला भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा एकल महिला समाजका जिल्ला अध्यक्ष खगिश्वरा बस्याल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हिम बहादुर जि.सि. लेकाली, अनेम संघ क्रान्तिकारीका जिल्ला सचिव सीता बि.क., महिला मोर्चाका प्रतिनिधि अमिसा बि.एम., अखिल नेपाल प्रगतिशिल महिला संघकी प्रतिनिधि राधा नेपाली लगायतका वक्ताहरुले मन्तव्य राख्दै महिला अधिकारका पक्षमा जोड दिएका थिए ।
समानुपातिक प्रतिनिधित्वको माग
अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य संझना घर्तीले राज्यका सबै अङ्गमा जनसंख्याको आधारमा महिलाहरुको समानुपातिक प्रतिनिधत्व गराईनु पर्ने माग गर्नुभएको छ ।
१०३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी सन्धिखर्कमा आयोजित जनसभामा मन्तव्य राख्दै उहाँले मुलुकको राष्ट्रियता गम्भीर संकटमा परेको बताउँदै, राष्ट्रिय स्वाधिनता र महिला अधिकारको सुनिश्चितताको लागी संघर्षको विकल्प नभएको बताउनु भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादीका जिल्ला ईन्चार्ज भेषराज भुसालले प्रधानन्याधिश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाएर आफ्नो पार्टीले पर्तिवाद गर्ने बताउनु भयो । विदेशी शक्ति केन्द्रको निर्देशनमा प्रधान्याधिश रेग्मीलाई प्रधानमन्त्री बनाएर मुलुकमा एक दलिय अधिनायक वाद लाद्न खोजिएको भन्दै ४ दलले गल्ती नसच्याए मुलुक मुडभेडमा जाने बताउनु भयो ।
अनेम संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक इश्वरा के.सी.को अध्यक्षता र कमला भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा माओवादीका जिल्ला सेक्रेटरी बावुराम घिमिरे भुवन, नेकपा माओवादीका जिल्ला सदस्य सरस्वती भुसाल, कलाकार संयोजक बालकृष्ण भलामी लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।