काठमाडौं । बाबुराम भट्टराई सरकारले बढाएको सार्वजनिक सवारी साधनको नयाँ भाडादर शुक्रबार देखि लागू भएको छ । वैज्ञानिक भाडादरलाई असर पार्ने पेट्रोलियम पदार्थको मूल्य, मुद्रास्फीति, पाटपुर्जा र श्रमिकको ज्यालालगायत तत्वको बृद्धिको आधारमा नयाँ भाडा बढाई कार्यान्वयनमा ल्याइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक सवारी साधनको भाडा हालको भन्दा करिब ९ प्रतिशतले बढेको छ । यो बृद्धिसँगै काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधन चढ्ने बित्तिकै न्यूनतम भाडा १५ रुपैयाँ पुगेको छ । यस अघि न्यूनतम भाडा १४ रुपैयाँ थियो ।
विभागका प्राविधिक निर्देशक शरद अधिकारीको संयोजकत्वमा गठित बैज्ञानिक भाडादर समायोजन प्राविधिक समितिले दिएको सुझावका आधारमा सरकारले मंगलबार भाडा बढाउने निर्णय गरेको थियो ।
वैज्ञानिक भाडादरमा इन्धनको मूल्यका अलावा पार्टपुर्जाको मूल्य, मुद्रास्फीति लगायतको मापन गरिन्छ । यस अनुसार भाडामा इन्धनको मूल्यको हिस्सा ६५ प्रतिशत र बाँकी अन्य तत्वको हिस्सा रहन्छ ।
त्यही अनुपातका आधारमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ । यसअघि सरकारले साउनमा पनि भाडा बृद्धि गरेको थियो ।
भाडाबृद्धिको उपभोक्ता हितसम्बन्धी काम गर्ने संस्थाहरुले भने विरोध गरेका छन् । बर्षमा १ पटक भन्दा बढी भाडा बढाउन नपाइने भन्दै उपभोक्ता हित संरक्षण मञ्चले निर्णय फिर्ताको माग गर्दै आएको छ ।
दुई दिनको बन्दका कारण लामो दूरीको यात्रा गर्नेहरुको चाप बढेसँगै शुक्रबार यातायात व्यवसायीहरुले चर्को भाडा असुलेको यात्रुहरुले गुनासो गरेका छन् ।
– RSS