भेनेजुएलाका दिवंगत राष्ट्रपति ह्यूगो चाभेजको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । राजधानी कारकासस्थित सैन्य प्रतिष्ठानमा आयोजित श्रद्धाञ्जलीमा विश्वभरका तीसभन्दा बढी नेता सहभागि भएका थिए । चाभेजलाई अन्तिम बिदाई गर्दा लाखौंलाख जनता सडकमा ओर्लिएका थिए ।
ल्याटिन अमेरिकी तथा क्यारेबियन देशका नेताहरु श्रद्धाञ्जलीका लागि काकरास पुगेका थिए । क्यूवाली राष्ट्रपति राउल क्यास्त्रो, इक्वेडोरका राष्ट्रपति राफेल कोर्रिया, ब्राजीलका नेताहरु डिल्मा राउसेफ, लुइज इनासियो लूला डी सिल्भालगायत श्रद्धाञ्जली दिन पुगे । इरानी राष्ट्रपति महमूद अहमदीनेजाद तथा बेलारुसका अलेक्जेंडर ल्यूकसशेनखो पनि श्रद्धाञ्जली दिन पुगेका थिए । शोकाकूल जनताले चाभेज मरेका छैनन्, झन् कयौं गुणा बढेका छन् जस्ता नारा लगाएका थिए ।
यसअघि उपराष्ट्रपति मेडुरोले चाभेजको शवलाई लेनिन र माओत्से तुंगको जस्तै सर्वसाधारणले युगयुगसम्म हेर्न मिल्नेगरी संरक्षित गरेर राख्ने बताएका थिए । चाभेजको शव सैन्य संग्रहालयमा राखिने छ ।
यसैबीच, उपराष्ट्रपति निकोलस मेडुरोले कार्यकारी राष्ट्रपतिको सपथ लिँदै राष्ट्रपति पद सम्हालेका छन् । अब मेडुरोले ३० दिनभित्र देशमा नयाँ चुनाव गराउनुपर्ने हुन्छ । विपक्षीले भने मेडुरोको सपथ असंवैधानिक भन्दै कार्यक्रम बहिष्कार गरेका छन् । उनीहरुले संसदका अध्यक्षले कार्यकारी राष्ट्रपतिको सपथ लिइनुपर्ने बताएका छन् । १४ वर्षसम्म भेनेजुएलाको नेतृत्व गरेका ५८ वर्षिय ह्यूगो चाभेजको मंगलवार क्यान्सर रोगका कारण निधन भएको थियो ।
– Agencies