हाम्रो मझेरी साहित्य प्रतिष्ठान स्वर्णाङ्क २०६९ को हाम्रो मझेरी स्रष्टा सम्मान पुरस्कार वितरण एवं कृति विमोचन तथा काव्य परिक्रमा कार्यक्रम भव्यताका साथ आज सम्पन्न भएको छ ।
चितवनको नारायणगढ स्थित गंगोत्री होटलको सभाहलमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथीमा वरिष्ठ साहित्यकार विष्णु बहादुर सिंह रहेका थिए ।
त्यस्तै गरी विशिष्ट अतिथीहरुमा केशव राज आमोदी, वियोगी बुढाथोकी तथा नगेन्द्र राज शर्मा रहेका थिए । भने विशेष अतिथीहरुमा गोविन्द राज विनोदी, धनराज गिरी, एल.बि. क्षेत्री, ह्याग्रिव आचार्य, प्रभाकर पण्डित, सरला पण्डित लगायत विभिन्न गजल स्रष्टाहरु रहेका थिए ।
राष्ट्रिय गान पछि कार्यक्रमका प्रमुख अतिथी विष्णु बहादुर सिंहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमलाई औपचारिकता दिईएको थियो । हाम्रो मझेरीले ५०औँ अंक प्रकाशन पार गरी स्वर्णाङ्क विशेष हाम्रो मझेरी राष्ट्रिय साहित्य विविधको विमोचन गरिएको थियो ।
सो कार्यक्रममा इजरायलमा रहनुभएकी स्रष्टा कल्पना पौडेल जिज्ञासुको भावनाका भेलहरु गजल संग्रह, राधिका कुईंकेल खनालको मौन आकाश गजल संग्रह र प्रतिष्ठानका अध्यक्ष तथा गजलकार पुष्प अधिकारी अञ्जलीको म कवितामा देश खोजिरहेछु नामक कृति विमोचन गरिएको थियो ।