काठमाडौं । बेलायत सरकारले नेपाललाई ५ अर्ब बढीको अनुदान सहयोग गर्ने भएको छ ।
बेलायतले बेलायत सरकारको विकासका लागि अन्तर्राष्ट्रिय विभाग मार्फत नेपालको ग्रामीण पहुँच कार्यक्रम तेश्रो चरणका लागि ३ करोड ६५ लाख पाउण्ड स्टर्लिङ अर्थात् करिब ५ अर्ब ११ करोड नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने भएको हो । सोमबार नेपाल सरकार र डिएफआईडि बीच सहयोग सम्बन्धी समझदारी भएको हो ।
समझदारीपत्रमा नेपाल सरकार तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र बेलायत सरकारका तर्फबाट डिफिड नेपालका प्रमुख डोमिनिक ओ निलले हस्ताक्षर गर्नुभएको हो । सडक विस्तार र रोजगारी सृजना गरी ग्रामीण जनताको जिवनस्तर सुधार गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको छ । नेपालको मध्य पश्चिम र सुदूरपश्चिमका जिल्लाहरु हुम्ला, बाजुरा, मुगु, अछाम, कालिकोट, जुम्ला र दैलेखमा कार्यक्रम सञ्चालन गरिने छन् ।
परियोजना संघीय मामिला मन्त्रालय र स्थानीय विकास मन्त्रालय मार्फत कार्यान्वयन गरिने छ । २०१७ सम्म कार्यान्वयन गरिने लक्ष्य राखिएको परियोजनाबाट त्यस क्षेत्रका २० हजार जनता गरिबीको रेखाबाट माथी उठ्ने अपेक्षा गरिएको छ ।
– Agencies