भारतको दिल्लीमा युवतीमाथि गरिएको सामूहिक बलात्कारका एक आरोपी राम सिंहले आत्महत्या गरेका छन् ।
तिहाड जेलमा राखिएका उनले झ्यालको ग्रीलमा आफ्नै कपडाको पासो लगाएर हिजो विहानै आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
आरोपी सिंह दिल्ली सामूहिक बलात्कारकाण्डका ६ आरोपी मध्ये एक थिए । गत डिसेम्बर १६ मा दिल्लीमा यात्रारत बसमा २३ वर्षकी एक मेडिकल विद्यार्थीमाथि सामूहिक बलात्कार भएको थियो ।
बलात्कारबाट गम्भीर उनको सिंगापुरमा उपचारकै क्रममा निधन भएको थियो । राम सिंह त्यही बसको ड्राइभर थिए । घटनामा उनका भाई मुकेश र अरु तीन जना संलग्न रहेको भन्दै मुद्दा चलिरहेको छ । घटनाका ६ जना आरोपी मध्ये एकजना नाबालिग रहेका छन् ।
घटनाको देशभर व्यापक विरोध भएपछि सरकारले महिला हिंसा सम्बन्धी कानूनमा ठूलो फेरबदल गर्दै अध्यादेश ल्याइसकेको छ ।
यद्यपि, भारत सरकारले महिला सुरक्षाका लागि प्रतिबद्धता जनाएपनि दिल्लीमा फेरि एक महिलामाथि सामूहिक बलात्कार गरिएको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्लीको अक्षरधाम नजिक चार युवकले एक महिलालाई अपहरण गरी कारभित्रै सामूहिक बलात्कार गरेका हुन् ।
उता, छत्तिसगढ राज्यको राजगढमा चार किशोरीमाथि केही युवकले तेजाव प्रहार गर्दा एक जनाको स्थिति चिन्ताजनक छ । १० देखि १६ बर्ष उमेरका दिदीबहिनीमाथि आक्रमण गर्ने ब्यक्तिको पहिचान हुन सकेको छैन ।
जिल्लाको प्रसौर इलाकामा गएराति अबेर रामायण पाठ सकेर घर फर्कदै गर्दा अँध्यारोको फाइदा उठाएर तेजाव आक्रमण गरिएको थियो । राजगढ प्रहरीले शंकास्पद केही युवकलाई नियन्त्रणमा लिएको छ ।
– एजेन्सी