प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन, निर्वाचन असार ७ मा

मुख्य चार राजनीतिक दलवीच लडाकूको दर्जा, सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतका सवै बिषयमा सहमति जुटेको छ । सहमतिपछि सेना समायोजन बिशेष समितिको कार्यालय नयाँ बानेश्वरमा चारै दलका शीर्ष नेताहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । असार पहिलो साताभित्र निर्वाचन गर्नेगरि प्रधानन्यायाधीश रेग्मीलाई अन्तरिम चुनावी परिषद्को अध्यक्ष बनाउन दलहरु सहमत भएका छन । यसैगरि माओवादी लडाकूलाई एक कर्णेल र दुई लेफ्टीनेन्ट कर्णेल दिने सहमति भएको छ ।
मुख्य चार राजनीतिक दलबीच असार ७ गते भित्र निर्वाचन गर्ने भन्ने सहमति भएको छ । तर प्रधान न्यायाधीशलाई भने निर्वाचन गर्न मंसिर मसान्त भित्रको समयसीमा दिइएको छ। दलहरु प्रधान न्यायाधीशलाई आजै ११ बजे राति शपथ गराउने भन्नेमा सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधीले बताएका छन्।
उनका अनुसार नागरिकताको विषयमा भएको विवाद पनि टुंगिएको छ । जसमा जन्मसिद्धको आधारमा पाएका नेपाली नागरिकले वंशजको आधारमा पनि नागरिकता पाउने व्यवस्था गरेका छन् ।

यसैगरी मतदाता नामावलीमा भने मतदाता नामावली २०६४ लाई आधार बनाएर नागरिकता नभएकालाई पनि मतदाता नामावलीमा सुचिकृत गर्ने सहमति भएको छ ।

माओवादी लडाकु र सेना समायोजनको बारेमा रहेको विवाद पनि टुंगिएको छ । जस अनुसार एमाओवादी लडाकुलाई १ कर्णेल, १ महासेनानी, २ प्रमुख सेनानी दिने सहमति भएको छ । तर सेनाको तालिम पुरा गरेपछि मात्रै महासेनानीको दर्ज्यानी दिइने कांग्रेस नेता निधीले नागरिकन्युजलाई बताएका छन् ।

अहिले विशेष समितिको समायवधि सकिएको र सो समितिको म्याद अहिले बस्ने मन्त्रिपरिषद्को बैठकले थप्ने निर्णय गर्नेछ । यो निर्णयपछि समितिको बैठक बस्ने छ । दलहरुबीच भएको सेनाको दर्जा निर्धारणको सहमतिलाई विशेष समितिको बैठकले अनुमोदन गर्नेछ ।
यस्तै अब बन्ने सरकारलाई अन्तरिम निर्वाचन परिषद् भनिने सहमति दलहरुबीच भएको छ । रेग्मी यस परिषद्को अध्यक्ष हुने छन् । परिषद्मा ११ जना रहने छन् । जसमा निजामति सेवाबाट अवकाश प्राप्त विशिष्ट कर्मचारीहरु रहने छन् ।