नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६९/७० को ७ महिनासम्मको आर्थिक रिपोर्ट सार्वजनिक गर्दै अन्तरार्ष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ र सुनको मूल्य घटेको र अमेरिकी डलर बलियो भएको उल्लेख गरेको छ। ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०६८ माघ मसान्तमा प्रति व्यारल अमेरिकी डलर १२०.२५ रहेकोमा २०६९ माघ मसान्तमा २.४ प्रतिशतले ह्रास भई प्रति व्यारल अमेरिकी डलर ११७.४० कायम भएको छ’,
राष्ट्र बैंकले भनेको छ- ‘सुनको मूल्य २०६८ माघ मसान्तको तुलनामा २०६९ माघ मसान्तमा ७.० प्रतिशतले ह्रास भई प्रति आउन्स अमेरिकी डलर १६१२.२५ कायम रहेको छ।’
२०६९ असार मसान्तको तुलनामा २०६९ माघ मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.९ प्रतिशतले अधिमूल्यन भएको केन्द्रीय बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १०.२ प्रतिशतले अवमूल्यन भएको थियो। २०६९ माघ मसान्तमा अमेरिकी डलर एकको विनिमय दर रु. ८५.३० पुगेको छ। २०६९ असार मसान्तमा उक्त विनिमय दर रु. ८८.६० रहेको थियो।