एघार सदस्यीय अन्तरिम चुनावी मन्त्रिपरिषद्मा नियुक्त हुन बाँकी मन्त्रीको संख्या अब ८ रहेको छ । अवकाशप्राप्त विशिष्ठ श्रेणीका पूर्वकर्मचारीबाट संभवतः आइतबार नयाँ मन्त्रीहरु नियुक्त गरिने सम्भावना रहेको स्रोत बताउँछ । तर, मन्त्रीमा क-कसलाई ल्याउने भन्नेमा सरकार र दलवीच भित्रभित्रै हानाथाप भइरहेको छ ।
दलका तर्फबाट मन्त्री बनाउन नपाइने आफैंले सहमति गरे पनि आफू निकटका कर्मचारीलाई मन्त्रालयमा ल्याउन दलका नेताहरु लागिपरेका छन् । स्रोत अनुसार एमाले नेताहरु पूर्वसचिव बालानन्द पौडेल, डा. गोविन्द कुसुम र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटालाई मन्त्री बनाउने कसरतमा लागेको छ । एमालेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे थपलियाका पक्षमा लबिङ गरिरहनुभएको छ ।
उता नेपाली कांग्रेसका नेताहरु भने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल र पूर्वसचिव युवराज पाण्डेको लबिङमा लागेका छन् ।
एमाओवादीको जोड पूर्वअर्थसचिव एवं पाल्पाली रामेश्वर खनाललाई अर्थमन्त्री बनाउनेमा रहेको छ । तर, धेरै पाल्पाली भएको गुनासो आउन थालेपछि खनाललाई नल्याई विद्याधर मल्लिकलाई ल्याउने योजनामा रेग्मी रहेको चर्चा हुन थालेको छ । त्यस्तै महिलाबाट बृन्दा हाडा र उषा नेपाल एवं मधेसी समुदायबाट उमाकान्त झाको नाम चर्चामा आएको छ ।
दलहरुले रेग्मीलाई दुईजना मन्त्रीको मात्रै कोटा दिएको दाबी गरेका छन् । रेग्मीले आफ्नो कोटाअनुसार माधवप्रसाद घिमिरे र हरिप्रसाद न्यौपानेलाई मन्त्री बनाइसकेको भन्दै बाँकी मन्त्री दलहरुकै कोटामा छानिनुपर्ने नेताहरु बताउँछन् ।