विभिन्न संवैधानिक अंगमा नियुक्तिका लागि सिफारिस गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दैछ । नयाँ बानेश्वरमा आइतबार दिउँसो एक बजे बस्ने बैठकले संवैधानिक अंगमा नियुक्तिका लागि सरकारलाई सिफारिस गर्ने तयारी छ ।
निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक र लोकसेवा आयोगमा प्रमुख पदाधिकारी र सदस्यहरु नियुक्तिका लागि समितिले सिफारिस गर्ने समितिका संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार निर्वाचन आयेगको प्रमुखमा नीलकण्ठ उप्रेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्की, महालेखा परीक्षकमा भानु आचार्य र लोकसेवा आयोगमा कयोदेवी यमीलाई प्रमुख बनाउने तयारी दलहरुले गरेका छन् ।