यसवर्ष हिउँदमा धेरै पानी परेपनि गहुँको उत्पादन बढ्ने सम्भावना नदेखिएको कृषि विज्ञले बताएका छन् । लगाउने बेला जमीन सुख्खा रहेकाले कतिपय ठाउँमा गहुँखेती नै हुन सकेको छैन ।
समयमै लगाउन नसकिएको र लगाइएको ठाउँमा पनि सिँचाई अभावले उम्रन नसक्दा खेती कम भएको कृषि विज्ञको भनाई छ । नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ वैज्ञानिक डा. ध्रुवबहादुर थापाका अनुसार उम्रेको ठाउँमा मात्र हिउँदे वर्षाले गहुँबालीलाई राहत पुगेको छ ।
गहुँलाई लगाउने बेलादेखि दाना लाग्ने बेलासम्म सिंचाईको आवश्यकता पर्ने थापाले बताउनुभयो । पोहोर मौसम अनुकूल भएकाले गहुँको उत्पादन राम्रो भएको थियो । पोहोर झण्डै सातलाख ६५ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा प्रतिहेक्टर २४ सय १२ किलोको दरले उत्पादन भएको थापाले जानकारी दिनुभयो ।
यसवर्ष योभन्दा कम उत्पादन हुने अनुमान छ ।
तराई, उपत्यका र पहाडी क्षेत्रमा गहुँखेती हुँदै आएको छ । तराई र उपत्यकामा चैतको अन्तिम हप्तादेखि गहुँबाली भित्र्याउने बेला सुरु हुन्छ ।
उच्च पहाडी क्षेत्रमा भने गहुँ पाक्न ढिलो हुने भएकाले भित्र्याउन असारको पहिलो हप्तासम्म लाग्छ । धान र मकैपछि गहुँ नेपालको अर्को मुख्य खाद्यान्न बाली हो ।