राष्ट्रसंघले पाकिस्तानको सार्वभौमसत्ता माथि हस्तक्षेप गरेको भन्दै अमेरिकाको कडा आलोचना गरेको छ । अमेरिकाले पाकिस्तानको सहमति नलिइ ग्रामीण क्षेत्रमा मानवरहित विमानबाट आक्रमण गरेर अमेरिकाले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको ठहर गरेको हो ।
तीन दिने पाकिस्तान भ्रमण सके लगत्तै प्रतिआतंकवाद तथा मानवअधिकार सम्बन्धी राष्ट्रसंघीय विशेष दूत बेन इमर्सनले मानवरहित विमानबाट आतंकवादी विरुद्ध आक्रमण गरिएको भनिए पनि त्यसका लागि पाकिस्तानले अनुमति नदिएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सन् २००४ देखि अहिलेसम्म अमेरिकाले पाकिस्तानका आदिवासी क्षेत्रमा ३ सय ६५ पटक ड्रोन हमला गरेको छ र त्यसमा ३ हजार ५ सय ७७ जनाले ज्यान गुमाएका छन् । मारिने मध्ये ८ सय भन्दा धेरै सर्वसाधारण नागरिक छन् ।