सिरियाका एक जना सैनिक जनरलले विद्रोहीलाई साथ दिने घोषणा गर्दै देश छोडेका छन् । सरकारी सेनाको नैतिकता र मनोबल खस्केको भन्दै जनरल मोहम्मद एज अल दिन खलौफले सरकारको साथ छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खलौफ सुरक्षित रुपमा जोर्डन पुग्नुभएको छ । उहाँले सरकारले अन्तर्राष्ट्रिय समुदायलाई सबै ठिक रहेको देखाउने प्रयास गरेपनि सबै तहस नहस भएको र सरकारले विश्वास गुमाईसकेकाले साथ दिनुको कुनै औचित्य नभएको प्रतिक्रिया दिनुभएको छ ।
कुनै विशेष हितका लागि काम गरेको स्पष्ट नभएकाले वर्तमान सरकारको कुनै पनि विचार स्वीकार्न सम्भव नभएको उहाँको भनाई छ ।
सिरियाली विद्रोही समूहका कार्यकर्ताले खलौफले पूर्व योजना अनुसार नै देश छोडेको भन्दै उहाँ र उहाँको परिवारलाई सुरक्षित रुपमा जोर्डन पुर्याउन आफूहरुले सहयोग पुर्याएको दावी गरेका छन् ।
खलौफको निर्वासनबारे सरकारले औपचारिक प्रतिक्रिया दिएको छैन ।