– दुर्गालाल केसी
कटुवाखोला (दाङ),सात वर्षकी सरिता थापा असिनपसिन हुँदै कटुवा खोला छेउमा झोलाभरि ढुंगा बोक्छिन् र आमा छेउ पुर्याउँछिन् । आमा कमला सकी नसकी तिनै ढुंगा फोडेर गिट्टी बनाउँछिन् । कमलाका खुट्टा चल्न छोडेको ४ वर्ष भयो । श्रीमान् तुलाराम एक रात कमला र २ छोरीलाई छोडेर भागे । अनि ठूलो सन्तानका हैसियतले आमा र बहिनी पाल्ने जिम्मेवारी सरिताको आयो ।
‘दुई वर्षअघि असारको एक रात, झरी वषिर्रहेको थियो । सँगै सुतेका श्रीमान् बिहान उठ्दा थिएनन् । सोधीखोजी गरेँ, कतै भेटाउन सकिनँ,’ कमलाले भनिन्, ‘खुट्टा नचल्ने भएकाले टाढा जान सकिन । आफ्नो भन्ने न कोही मान्छे छ न घरजग्गा ।’
लत्रँदै खोलामा पुग्यो अनि गिट्टी कुट्यो । ‘तर बोराको चामल सकिइसक्दा पनि एक टि्रप गिट्टी पुगिसकेको हुँदैन,’ लामो सुस्केरा हाल्दै कमलाले भनिन्, ‘६ सय रुपैयाँ कोठा भाडा छ । समयमा भाडा नतिरे कोठाबाट हटाउँछन् ।’
लट्ठी टेकेरमात्रै केही हिँड्डुल गर्न सक्ने कमला गिट्टी कुट्ने ठाउँ र कोठासम्म मात्र आवतजावत गर्छिन् । ९ वर्षको उमेरमा बुवाको मृत्यु भएपछि र आमा अर्कैसँग विवाह गरेर गएपछि कमला एक्ली भएकी थिइन् । रोल्पाको रुम्चालमा केही वर्ष बिताएपछि उनी काम खोज्दै घोराही आएकी थिइन् । घोराहीको अम्बापुरस्थित एक घरमा कम्लरी बसिन् । डकर्मी काम गर्ने सैघा ७ छहरेका तुलाराम थापासँग भेट भएपछि विवाहको कुरा चल्यो । आठ वर्षअघि विवाह गरेकी २९ वर्षीया कमला जवानीमै थला परिन् ।
पानी ल्याउने, दाउरा जुटाउने अनि पसलसम्म गएर नुन तेल किन्ने साहरा सात वर्षकी छोरी सरिता भएकी छन् । काखमा रहेकी तीन वर्षीया मनीषा र साहरा बनेकी सरितालाई देखेरमात्रै उनलाई बाँच्ने सहारा भएको छ । ‘एक्लै भएको भए बाँच्नुपर्ने थिएन ।
जतिबेला पनि सजिलो बाटो रोजिहाल्थें,’ निराश हुँदै उनले भनिन्, ‘छोरीहरूको माया लाग्छ । यिनलाई कसले पाल्ला भन्ने चिन्ताले दुःखकष्ट सहेर बाँचेकी छु ।’ कहिले तीन आमाछोरी भोकभोकै सुत्छन् त कहिले खोला छेउमा छाता ओढेर दिन बिताउँछन् ।
सामान्य खुट्टा दुख्ने र झमझम गर्ने समस्या बढ्दै गएर हिँड्नै नसक्ने भएको उनले बताइन् । ‘अस्पतालमा उपचार गर्न जाँदा डाक्टरले एमआरआई गरेरमात्रै रोग पत्ता लाग्छ भने । यसका लागि ९ हजार लाग्छ रे,’ उनले भनिन्, ‘त्यत्रो पैसा कहाँबाट पाउनु ? त्यत्तिकै रोग पालेर बसेकी छु ।’
सहयोग गर्न चाहनुहुनेले अर्घाखाँची डट्कम् मा संपर्क गर्नु होला ।