फोटो सहितको मतदाता नामाबली संकलनमा माओवादी अवरोध-आग्रह नमानेपछि कागजात समेत नियन्त्रणमा

नेकपा-माओवादी ले फोटो सहितको मतदाता नामावली संकलन अभियानलाइ अवरोध गरेको छ ।
नगरपालिकाका विभिन्न वडा तथा राजकुत र दगातुंडाडामा गएको टोलीलाइ फिर्ता पठाएको हो । नगरपालिकाका केही स्थानमा भने आग्रह नमानेपछि कागजात समेत नियन्त्रणमा लिएको माओवादीका सेक्रेटरी ज्ञामनाथ गैरेले बताए । नगरपालिकाको बुद्ध बिहार, कुँडुले, गहते, कालीमाटी लगायतका स्थानबाट पनि टोलीलाइ माओवादीका कार्यकर्ताले फिर्ता गरेका हुन् ।
राजनीतिक सहमति नभइसकेकोले मतदाता नामाबली संकलन तथा मतदाता शिक्षाको कार्यक्रम अगाडि नबढाउन आग्रह गरेका थियौ’ गैरेले भने,’आग्रह स्वीकारेका कर्मचारी सजिलै फर्किए, जवरजस्ती गर्न खोजेका स्थानबाट फिर्ता गर्नेगरी कागजात नियन्त्रणमा लिएका छौं ।’ माओवादीले जिल्ला प्रशासन कार्यालय अगाडी बसेको केन्द्रबाट जवरजस्ती कागजात लिएका हुन् । उक्त स्थानमा आग्रह नमानी प्रहरीपरिचालन गर्न थालिएपछि जवरजस्ती भएको उनले स्विकारे ।
दुइ दिन अघि नेकपा- माओवादीले आफ्नो सहमति बिना अभियान नचलाउन जिल्ला निर्वाचन कार्यालयलाइ आग्रह गरेको थियो । बर्तमान सरकारको खारेजी, राजनीतिक सहमतिय सरकार गठन, सर्वदलीय गोलमेच सम्मेलन तथा २५ बुँधे सहमति खारेज भएमा मात्र माओवादीले निर्वाचनमा जान सकिने बताएको छ । केन्द्रीय तहबाट अभियानको थालनी भएकोले कार्यालयले भने मतदाताको नामावली अद्यावधी गर्न टोली पठाएको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए । जिल्लामा नेकपा-माओवादी र जनमोर्चाले निर्वाचनका क्रियाकलाप बहिस्कार गर्दै राजनीतिक व्यक्तिको नेतृत्वमा बन्ने सरकारले मात्र निर्वाचन गराउन सक्ने धारणा राख्दै आएका छन् । अन्य दलहरु भने सांकेतिक रुपमा निर्वाचनको प्रचार अभियानमा समेत जुटिसकेका छन् ।