निर्वाचन असार ४ देखि ७ भित्र : ऊर्जा तथा सिंचाई मन्त्री उमाकान्त झा

ऊर्जा तथा सिंचाई मन्त्री उमाकान्त झा ले सरकार असारको पहिलो साता संविधानसभा चुनावको मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटिरहेको बताएका छन् ।
रिपोर्टर्स क्लव नेपालद्वारा मंगलवार आयोजित होली शुभकामना आदानप्रदान तथा साक्षात्कार कार्यक्रममा मन्त्री झाले भने,’असारको पहिलो साता नै मिति घोषणा गर्ने गरी हामीले निर्वाचन आयोगसँग परामर्श गरिरहेका छौं । आयोगले एउटा कार्यतालिका बनाएको छ । त्यसलाई मिट गर्नेगरी चुनावको मिति घोषणा हुन्छ ।’    
मन्त्री झाले आगामी मन्त्रिपरिषद्को बैठकमा यस बारेमा निर्णय गरिने खुलासा गरे । उनले भने- ‘चुनाव असार ४, ५, ६ र ७ गतेभित्र हुन्छ । हामी देशभरि संविधानसभाको निर्वाचन एकैदिनमा गर्ने तयारीमा छौं । संविधानसभा एकै दिन हुनसक्छ भन्ने निष्कर्षमा सरकार पुगेको छ ।’
मन्त्री झाले सरकारले निर्वाचन आयोगसंग छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिँदै भने, ‘सबै राजनीतिक दलका नेताहरु चुनावतिर लाग्नुस्, हामी असारको पहिलो साता स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित चुनाव गराएर निर्वाचन सरकारलाई सत्ता हस्तान्तरण गर्न तयार छौं ।’
चुनावी सरकार भएकोले असारको पहिलो साता चुनाव गराउनु नै यसको प्रमुख दायित्व भएको बताउँदै मन्त्री झाले भने, ‘हामी त्यसकै लागि रातदिन नभनी लागिपरेका छौं । अब सबै राजनीतिक दलहरु कुनै शंका, उपशंका र अविश्वास नगरी चुनावमा जानुपर्छ । ‘ अब सबै राजनीतिक दलहरुसँग छलफल गर्ने उनले बताए । ‘चुनावमा भाग लिन्नौं भन्ने दलहरुसँग पनि छिट्टै परामर्श गर्छौर्ं । उहाँहरुलाई पनि चुनावमा सहभागी गराउँछौं’, मन्त्री झाले भने, ‘नेकपा-माओवादीसँग पनि छलफल गरी उहाँहरुलाई चुनावमा सहभागी गराउँछौं ।’