‘रेग्मीकै पालामा बालकृष्ण ढुंगेललाई कारबाही होस्’ – युवा संघ

– दुर्गा खनाल
  
एमाले निकट युवा संघ नेपालले प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकारले बालकृष्ण ढुंगेललगायतलाई कारबाही गर्न माग गरेको छ ।
महासचिव राजीव पहारी नेतृत्वको युवा संघको टोलीले बिहीबार अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेट गरी ढुंगेललगायत अदालतले दोषी ठहर्‍याएकालाई कारबाही गर्न माग गरेको हो । युवा संघको १५ बुँदे ज्ञापन पत्र बुझ्दै रेग्मीले दण्डहीनता अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले भने, ‘म कानुनको शासन पालना गराउन दृढ छु ।’
युवा संघले नसार्नेगरी संविधानसभाको मिति घोषणा, स्थानीय निकायको चुनाव, १६ वर्ष पुगेका र विदेशमा रहेकालाई मताधिकार, विद्युतीय मतदान, अस्थायी बसोबास भएकालाई समानुपातिकमा भोट हाल्ने व्यवस्था गर्न माग गरेको छ ।
नेपालमा १६ देखि १८ वर्षसम्मका करिव २५ लाख युवा रहेको तथ्यांक प्रस्तुत गर्दै युवा संघले संयुक्त राष्ट्रसंघको मान्यताअनुसार मताधिकार व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।
विदेशमा रहेका नेपालीलाई उम्मेदवारको नामावली दर्ता भएपछि निर्धारित चुनावको मितिअघि नै मताधिकार व्यवस्था गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
संघले बिहीबार नै निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीलाई भेटेर १५ बुँदे ज्ञापन पत्र बुझायो ।
ज्ञापन पत्र बुझेपछि उप्रेतीले संविधानसभासँगै स्थानीय निकायको चुनाव सम्भव नभएको बताए । उनले निर्वाचन आयोग र सरकारले नसार्नेगरी चुनावको मिति घोषणा गर्ने तयारीमा रहेको उल्लेख गर्दै सहयोग गर्न सवै दल र भ्रातृ संगठनलाई आग्रह गरे ।