बीबीसी छाडेर रेग्मीको प्रेस सल्लाहकार

बीबीसी नेपाली सेवाका पत्रकार विमल गौतम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीका प्रेस सल्लाहकारमा नियुक्त हुनुभएको छ । बाग्लुङ ग्वालीचौर घर भएका पत्रकार गौतम नेपाली पत्रकारितामा कानून बिटका पारखी पत्रकार मानिनुहुन्छ ।
पत्रकारितामा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका गौतमले बीबीसी रेडियोमा काम गर्नुअघि राजधानी, कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजन, रिपब्लिका दैनिकलगायतका सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ । पत्रकारितामा उहाँको मुख्य बिट कानून र अख्तियार रहेको थियो ।
आफ्ने नेतृत्वमा सरकार गठन भएको १५ दिनपछि मिडिया बुझेको सक्रिय एवं युवापुस्ताको पत्रकारलाई अध्यक्ष रेग्मीले आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।
अध्यक्ष रेग्मीको प्रेस सल्लाहकार भएपछि गौतमले बीबीसी रेडियोबाट भने राजीनामा दिनुहुने भएको छ ।