जिन्दगीको गाडी (गज़ल)

कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल :- रोचेस्टर, न्युयोर्क
जिन्दगीको गाडी कहाँ रोकिने हो थाहा छैन 
अझै केही चल्ने होकि ठोकिने हो थाहा छैन 
गाह्रो हुन्छ हिंड्न डुल्न हात खुट्टा बसेपछि
रोई कराई कहिले सम्म बोकिने हो थाहा छैन
के भरोषा संसारमा आफ्नै आफ्ना भए पनि 
बुढेसकालमा हेर्ने हुन कि झोकिने हो थाहा छैन
बाचुन्जेलै अधर्म र पापाचार गर्दा खेरी
मरेपछि कस्तो सास्ती तोकिने हो थाहा छैन
छोडौँ अब लुछाचुँडी,मारामार र तेरो मेरो
विचार गरौँ कहिले जिब्रो टोकिने हो थाहा छैन 
जिन्दगीको गाडी कहाँ रोकिने हो थाहा छैन 
अझै केही चल्ने होकि ठोकिने हो थाहा छैन