निर्वाचन आयोगद्धारा समय अपुग हुने भन्दै असारमा चुनाव गर्न नसक्ने संकेत

काठमाडौं । निर्वाचन आयोगले समय अपुग हुने भन्दै असारमा चुनाव गर्न नसक्ने संकेत गरेको छ । 

 

आयोग कार्यालयमा चार दलका नेताहरुसँगको छलफलमा आयोग पदाधिकारीहरुले थुप्रै ऐन, कानूनमा संशोधन नभएको र मतदाता नामावली संकलनमा समेत सहज वातावरण नभएकाले असारमै चुनाव सम्पन्न हुन समय अपुग हुने संकेत गरेको बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए ।

 
आयोग पदाधिकारीले दलका शीर्ष नेताहरुलाई सबै कानूनी जटिलताको हल र निर्वाचनको मिति घोषणा भएपछि मात्र निर्वाचनको कामलाई तिव्रता दिन सकिने भन्दै त्यसका लागि वातावरण बनाउन आग्रह गरेका थिए ।


मतदाता नामावली संकलन, दल दर्ता, मतपत्र छपाई जस्ता काममा निकै समय लाग्ने भन्दै आयोग पदाधिकारीहरुले कानूनी जटिलता हटाउनका लागि ठोस पहल गर्न नेताहरुलाई आग्रह गरेका बताइएको छ ।


 
यसैबीच आयोगले निर्वाचन ऐन, कानून संशोधनको मस्यौदा तयार गरेको छ । मस्यौदामाथि छलफल गर्न आयोगले भोलि नै सर्वदलीय बैठक डाकेको छ ।


सर्वदलीय बैठकबाट सुझावहरु संकलन गरी कानून संशोधनका लागि मन्त्रिपरिषद्मा पठाउने आयोगको तयारी छ ।


RSS