काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरिया फेरि अर्को आणविक परीक्षणको अन्तिम तयारीमा रहेको दाबी गरेको छ । दक्षिण कोरियाली एकीकरण मन्त्रीले कोरियाली संसदमा सरकारकोतर्फबाट धारणा राख्दै उत्तर कोरिया अर्को आणविक परीक्षणको तयारीमा रहेको दाबी गरेका हुन् ।
दक्षिण कोरियाली एकीकरण मन्त्री रियो खि जेइले सांसदहरुलाई सम्बोधन गर्दै उत्तर कोरिया चौंथो आणविक परीक्षणको तयारीमा रहेको भरपर्दो सूचना प्राप्त भएको बताए ।
उत्तर कोरियाले आफ्नो उत्तरपूर्वस्थित नंगिरी क्षेत्रमा रहेको भूमिगत आणविक केन्द्रमा गतिविधि बढाएको दक्षिण कोरियाली संचारमाध्यमहरुले जनाएका छन् । सो क्षेत्रमा गत फेब्रुवरी १२ मा उत्तर कोरियाले तेस्रो आणविक परीक्षण गरेको बेलाको जस्तै तीब्र गतिविधि देखिएको बताईएको छ ।
उत्तर कोरियाले पछिल्ला दिनहरुमा दक्षिण कोरिया र अमेरिकामा आक्रमण गर्ने भनी बारम्बार धम्की दिईरहेको छ । यही बेला चौथो आणविक परीक्षणको तयारी भईरहेको खवर बाहिर आएकाले स्थिति थप जटिल बन्ने आँकलन गरिएको छ ।