राजधानीमा १२ वर्षपछि आउँदो शनिबारदेखि साझा यातायातका बस चल्दैछन्। १६ वटा नयाँ बसले दुई रुटमा बिहान ५ बजेदेखि राति ११ बजेसम्म सेवा दिँदैछ।
कलंकी, कालिमाटी, त्रिपुरेश्वर, सिनामंगल, एयरपोर्ट र सातदोबाटो, लगनखेल, जावलाखेल हुँदै गोंगबु रुटका लागि साझाले अनुमति पाएको छ।
५१ वर्षअघि सरकारले स्थापना गरेको साझा यातायात २०५८ सालमा विघटन भएको थियो। ०६७ सालमा सहकारीको रुपमा पुनःस्थापित साझाका ५४ सिटे ‘यूरो तीन’ मापदण्डका बस सञ्चालनमा आउनेछन्। यसमा १५ यात्रु उभिएर यात्रा गर्न सक्ने व्यवस्था छ।
बसमा दुईवटा सिसिटिभी र दुई वटै मनोरञ्जन तथा सूचनाका लागि टिभी स्क्रिन हुनेछन्। साझाले आफ्नै लगानीमा प्रति बस ३३ लाख ३६ हजारमा लागत परेको बताएको छ।
तस्बिरः चन्द्रशेखर कार्की