काठमाडौं । राजनीतिक दलहरुबीच कायमै रहेको खिचातानीका कारण आगामी मंसिरमा पनि संविधानसभाको दोस्रो निर्वाचन हुनेमा एक अन्तरक्रियाका सहभागीहरुले शंका व्यक्त गरेका छन् । डेमोक्रेसी एण्ड इलेक्सन वाच नेपालले आज राजधानीमा आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले राजनीतिक दलहरुको गतिविधिले मंसिरमा पनि निर्वाचन हुन्छ भन्नेमा शंका उत्पन्न भएको बताए ।
कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनप्रति दलहरुमा प्रतिवद्धताको अभाव र निर्वाचन ऐन संशोधनमा भइरहेको ढिलाईका कारण निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको बताए ।
कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले आगामी निर्वाचन अवसर, सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्ने क्रममा उनले सबै दलहरुलाई नसमेटी चुनावमा जाने मुख्र्याइ नगर्न निर्वाचन आयोगलाई सुझाव दिए ।
कार्यपत्रमा २०६४ सालको तुलनामा अहिले सुरक्षा स्थिति सहज रहेको, त्यतिखेरको जस्तो द्वन्द र भयको अवस्था नभएको, हतियारधारी धेरै समूह राजनीतिको खुला पाटोमा आइसकेको, सुरक्षा संयन्त्रको मुलुकभर उपस्थित रहेकोले निर्वाचन पहिलेको भन्दा सहज रहेको बताए ।
कार्यपत्रमाथि राजनीतिक विश्लेषक कृष्ण खनाल, संवैधानिक कानूनका ज्ञाता डा. भीमार्जुन अचार्य र पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले टिप्पणी गरेका थिए ।
RSS