त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट हङकङ जान लागेका एक यात्रुको शरिर भित्र १ किलो ३ सय ग्राम चरेश फेला परेको छ । ड्रागन एयरबाट मङगलबार राति हङकङ जान लागेका वीरमान तामाङलाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।
नुवाकोट टुकेचे ५ घर भएका तामाङले गतिविधी शंकास्पद देखेपछि प्रहरीले सोधपुछ गरेको ब्युरोका डिआइजी केदार साउदले बताए । साउदका अनुसार तामाङ पटक/पटक सिंगापुर गएको देखेपछि प्रहरीले उनी माथी शंका गरेको थियो ।
उनलाई सोधपुछ गर्दा चरेशको क्याप्सुल खाएको स्विकार गरेपछि राती नै प्रहरी अस्पताल महराजगञ्ज लगेर क्याप्सुल निकालिएको प्रहरीले जनाएको छ । उनले १ सय ३२ वटा क्याप्सुल खाएका थिए । उनलाई उक्त क्याप्सुल नाम नखुलेका एक भारतिय नागरिकले दिएको र हङकङमा समेत अर्का भारतिय नागरिकले नै लिने गरेको बयान दिएका छन् । उनले त्यसबापत आफुले एक पटकको २० हजार रुपैंया पाउने गरेको बताएका छन् । ब्युरोका अनुसार उनले ७ पटक चरेश क्याप्सुल बनाएर हङकङ लगेका छन् ।