शान्तिप्रक्रियाको नाममा खर्च भएको झण्डै २० अर्ब रुपैयाँको महालेखा परीक्षकबाट विस्तृत छानविन गर्ने निर्णय

काठमाडौं  । शान्तिप्रक्रियाको नाममा खर्च भएको झण्डै २० अर्ब रुपैयाँको महालेखा परीक्षकबाट विस्तृत छानविन गर्ने निर्णय सेना समायेजन विशेष समितिले गरेको छ । 
आज साँझ समितिको कार्यालय बानेश्वरमा बसेको बैठकमा माओवादी लडाकू एवम् शिविर व्यवस्थापनका लागि शान्ति तथा पुननिर्माणबाट निकासा भएको १९ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ भन्दा बढी रकमको महालेखा परीक्षकबाट छानविन गरी प्रतिवेदन सार्वजनिक गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय भएको हो । 
वैठकको अध्यक्षता गरेका पूर्व प्रधानमन्त्री एवं एकीकृत माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले उक्त निर्णयमा हस्ताक्षर गरेपनि एमाओवादीकै प्रतिनिधि वर्षमान पुनले भने निर्णयप्रति असहमति जनाएका थिए ।
 
त्यस्तै बैठकले समायोजनमा गई सैनिक तालिममा रहेका तर तालिम छाडेर बाहिरिन चाहेका ४७ पूर्व माओवादी लडाकूलाई प्रतिव्यक्ति २ लाख ५५ हजारका दरले रकम दिएर विदा गर्ने निर्णय समेत गरेको छ । 
बैठकले पूर्व माओवादी लडाकूको आधारभूत तालिम सम्पन्न नहुँदासम्म सम्बन्धित निकायसँग समन्वय गरी सरकारलाई बुझाउन अवकाश प्राप्त रथी बालानन्द शर्मालाई समन्वयकर्तामा नियुक्त गर्न सरकारलाई सिफारिस गरेको छ । 
 
आजदेखि सेना समायोजन विशेष समिति पनि भङ्ग भएको छ भने योसँगै ६ वर्षअघि सुरु भएको शान्ति प्रक्रिया पनि विधिवत् रुपमा टुंगिएको छ ।
RSS