चार दलको इसारामा चुनाव हुन नसक्ने भन्दै तत्काल संविधान सभा पुनःस्थापना हुनुपर्ने नेपाल आदिवासी जनजाति महासंघको माग

नेपाल आदिवासी जनजाति महासंघले चार दलको इसारामा चुनाव हुन नसक्ने भन्दै तत्काल संविधान सभा पुनःस्थापना हुनुपर्ने मत राखेको छ । महासंघको वैशाख २८ गतेदेखि तीन दिनसम्म चितवनमा हुने आठौं महाधिवेशनबारे जानकारी दिन शनिबार राजधानीमा आदिवासी जनजाति पत्रकार संघ (अनिज) ले गरेको पत्रकार सम्मेलनमा यस्तो बताइएको हो ।
‘सम्पूर्ण आदिवासी जनजातिको अभियान, संविधान सभाबाट जारी गरौं पहिचानसहितको संघीय संविधान ‘ भन्ने नारासहित महासंघले सम्मेलन तयारी गरेको जनाएको छ । ‘चुनाव जालझेल मात्रै हो,’ पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष राजकुमार लेखी थारूले भने, ‘चार दलका नेताको प्राइभेट लिमिटेडका कारण चुनाव सम्भव छैन । त्यसैले संविधान सभाको पुनःस्थापना गरी जातीय पहिचानसहितको संघीय संविधान जारी हुनुपर्छ ।’
लेखीले आफ्नो तीन वर्षे कार्यकालमा सिंगो आदिवासी जनजाति समुदायका मुद्दालाई झुक्न नदिएको र अरू दलको पिछलग्गु मात्र बनेर आदिवासीको अधिकार प्राप्ति नहुने स्पष्ट पारेको दाबी गरे । ‘आदिवासी जनजातिको मुद्दा समानता, अधिकार, पहिचानका निम्ति हो र त्यसको नेतृत्व महासंघले गरेको छ भनेर प्रमाणित गरेका छौं,’ विदेशी दाताको भरमा मात्र आदिवासी आन्दोलन भएको भ्रम चिरेको उल्लेख गर्दै उनले भने, ‘जातीय पहिचानसहितको संघीयता नचाहनेहरूले संविधान सभाबाट संविधान जारी हुन दिएनन् । अब पनि दिनेवाला छैनन् । त्यसैले संविधान सभा पुनःस्थापना एक मात्र विकल्प हो ।’