आज नयाँ वर्ष २०७० को पहिलो दिन देश विदेशमा रहेका नेपालीहरुले धुमधामका साथ मनाईरहेका छन् । वर्षको सुरुवाती दिन राम्रो भए बर्षभरी नै राम्रो हुने विश्वासका साथ आज नेपालीहरु विहानैदेखि नुहाई धुवाई गरी आफूलाई मनपर्ने परिकार बनाएर खाने तथा मनपर्ने स्थानमा घुम्न जाने गर्दछन् । आज विहानै देखि स्थानीयस्तरका मठमन्दिर तथा पर्यटकीय गन्तव्यमा ठूलो भिड लगोको छ । नयाँ बर्षलाई बिगत केहीबर्षदेखि भने एक पर्वकै रुपमा मनाउने गरिएको छ भने सरकारले आज सार्वजनिक विदा दिएको छ ।
नयाँ बर्षमा राष्ट्रपतिसहित शीर्ष नेताको शुभकामना
नयाँ बर्षको अवसरमा राष्ट्रपति डा. रामबरण यादबसहित अन्तरिम चुनावी परिषदका अध्यक्ष खिलराज रेग्मी तथा प्रमुख दलका शीर्ष नेताहरुले शुभकामना प्रदान गुर्नभएको छ ।
राष्ट्रपति यादबले दिनुभएको शुभकामना सन्देशमा यो नयाँ बर्षले सबैमा संविधानसभाको चुनावमा जुट्न प्रेरणा मिलोस भन्दै चुनावी वातावरण बनाउन सबैलाई आग्रह गर्नुभएको छ । संधिवानसभा निर्वाचनबाट संविधान जारी भएपछिमात्र देशमा अमनचयन र शान्तिस्थापना हुने भएकाले गम्भिर बन्न उहाँले दलहरुलाई आग्रह गर्नुभएको हो ।
त्यस्तै उपराष्ट्रपति परमानन्द झाले शुभकामना दिँदै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नयाँवर्षले सुख, समृद्धि तथा उन्नति ल्याउने कामना गर्नुभएको छ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्ष र आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत र सुदृढ गर्नु नै आजको टड्कारो आवश्यकता हो भन्दै सन्देशमा उहाँले राष्ट्रिय सहमति र सम्वादबाट सबै पक्षलाई चुनावी प्रक्रियामा ल्याई निर्धारित समयभित्रै संविधानसभाको निर्वाचन सम्पन्न गर्न सकिएमा जनचाहनाबमोजिमको लोकतान्त्रिक संविधानको निर्माण हुने उल्लेख गर्नुभएको छ ।
यसैगरी अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मन्त्रिपरिषद्का अध्यक्षका रूपमा नयाँवर्षको शुभकामना दिन पाउँदा आफूलाई खुसी लागेको बताउनुभएको छ ।
नयाँवर्ष २०७० को अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले देशमा सुशासन, शान्ति सुरक्षा र सेवाप्रवाहका लागि विधिको शासन र मानवअधिकारको रक्षा गर्दै आर्थिक सामाजिक विकासतर्फ प्रत्येक नेपाली नागरिकलाई आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु आजको आवश्यकता र वर्तमान सरकारको लक्ष्य भएको उल्लेख गर्नुभएको छ ।
यसै अवसरमा शुभकामना दिँदै नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रत्येक नयाँवर्षले हामी सबैलाई विगतका सबै कुरालाई केलाएर, तिनीहरूको विश्लेषण गरेर आगामी दिनलाई देश र जनताको हितमा सबल पार्दै जाने प्रेरणा दिने उल्लेख गर्नुभएको छ ।
यस्तै उपसभापति रामचन्द्र पौडेलले नयाँवर्ष २०७० को उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहीनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
मुलुक निर्वाचनतर्फ अग्रसर भएको अहिलेको अवस्थामा सबैको सहभागितामा निर्वाचन सफल बनाउनु हामी सबैको जिम्मेवारी भएको र निर्वाचनकै माध्यमबाट मुलुकमा लामो समयदेखि जारी सङ्क्रमणकालको अन्त भएर संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउने काम नयाँ वर्षमा पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।
यसैगरी पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नयाँ वर्ष सुखद, मङ्गलमय एवम् फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले नेपाली जनतामा लामो समयसम्म निराशा, वेदना र भविष्यप्रतिको चिन्ता रही रहनु हँुदैन भन्नुभएको छ ।
यसैगरी नेपाली नयाँवर्षको अवसरमा अमेरिकी विदेशमन्त्री जोन केरीले अमेरिकी राष्ट्रपति बाराक ओबामा र अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई नयाँवर्ष २०७० को हार्दिक शुभकामना दिनुभएको छ ।
सन्देशमा नेपालमा राष्ट्रिय एकता र सद्भावका रूपमा मनाइने तथा संसारभरिका नेपाली पृष्ठभूमिका मानिसका लागि नयाँ सुरुवात र सम्भावनाहरूको चिन्तन गर्ने यो अवसर भएको उल्लेख गरिएको छ ।