चार दलले देशलाई फाँसिवाद तर्फ धकेलेको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यको आरोप

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलका प्रमुख नेताले प्रधानन्यायधीशलाई कार्यपालिका प्रमुख बनाएर देशलाई फाँसिवादको दिशातिर धकलेको बताएका छन् ।
संवाद डबलीमा बोल्दै वैद्यले आफूलाई लोकतन्त्रको मसिहा ठान्नेहरुले नै लोकतन्त्रको हत्या गर्ने प्रयास गरिरहेको आरोप लगाए । उनले चार दलको सिण्डीकेटले देशलाई गम्भीर मोडमा पुर्याएको आरोप लगाए । ‘अहिलेको सरकारले गराउने निर्वाचनले निकास भन्दापनि जटिलता थप्छ त्यस्तो निर्वाचनमा सहभागी पनि हुदैनौं र जबरजस्ती गर्न खोजे त्यसलाई असफल बनाइदिन्छौं’  उनले भने ।
आफूहरुले अगाडि सारेको मुद्दाहरुको सम्वोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै उनले सर्वपक्षिय सम्मेलनबाट राजनीतिक पार्टीकै नेतृत्व सरकार बन्नुपर्ने बताए । ‘हाम्रो पार्टी शान्तिको विरोधी होइन, हामी राजनीतिक निकास सहितको दिगो शान्ति चाहन्छौं’ उनले भने ।
देशका प्राकृतिक सम्पदामाथि वैदेशकि हस्तक्षेप बढेका दावी गर्दै वैद्यले त्यसको  विरुद्ध आफूहरुले झण्डा उठाएको र त्यसलाई झुक्न नदिने बताए ।