प्रहरीले राजधानीको एक क्यासिनोमा छापा मार्दा एक उपसचिव समातिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरका उपसचिव भवनाथ भट्टराई दरबारमार्गस्थित अन्ना क्यासिनोबाट पक्राउ परेका हुन् ।
उनी सहित अन्नाबाट ५ जनालाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गले पक्रेको छ । पक्राउ पर्नेमा बौद्धका समिर विक्रम केसी, निमा लामा, विक्रम कुँवर र सुन्दर कोइराला छन् । भट्टराई पटक-पटक क्यासिनोमा जाने गरेको प्रहरी स्रोतले जनाएको छ । त्यहाँबाट प्रहरीले १ लाख ४७ हजार ५ सय नगदसहित १० हजार र एक हजार दरका क्वाइनहरू बरामद गरेको छ ।
प्रहरीले दरबारमार्गकै रोयल क्यासिनोमा छापा मारेर ६ जनालाई समातेको छ । यस्तै होटल ह्यातको स्टार क्यासिनोबाट समेत एक नेपाली समातिएका छन् । बौद्ध प्रहरीले त्यहाँबाट प्रहरीले ४५ हजार नगद बरामद गरेको छ ।
पक्राउ परेका सबैमाथि जुवा ऐनअन्तर्गत मुद्दा चल्नेछ । डेढ वर्षयता गृहका अधिकारी, प्रहरी र क्यासिनोको मिलेमतोमा नेपाली नागरिक प्रवेश गराउने सेटिङ चलाइँदै आएको हो । पूर्ववर्ती गृहमन्त्री विजयकुमार गच्छदारको संरक्षणमा चल्दै आएको सेटिङ भत्काउने कामका लागि नै प्रहरीले पछिल्ला अधिकृत सरुवा मिलाएको हो ।
क्यासिनो छिर्ने नेपालीलाई मात्र पक्राउ गरेर स्थायी समाधान ननिस्कने हुनाले सञ्चालकहरूमाथि पनि कारबाही हुनुपर्ने माग उठ्दै आएको छ । ‘यस पटक हामी सञ्चालकलाई पनि कारबाही प्रक्रियामा तान्छौं । उनीहरूको खोजी भइरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रणबहादुर चन्दले भने । उनले यसअघि राजनीतिक दबाबकै कारण नक्कली कर्मचारी परिचयपत्र दिलाएर नेपाली नागरिक खेलाउने क्यासिनोलाई कारबाही गर्न सकेका थिएनन् ।
जुवा ऐन २०२० ले व्यावसायिक रूपमा जुवा खेल्ने र खेलाउने दुवै पक्षलाई सजाय हुने व्यवस्था गरेको छ । आधुनिक जुवाघर क्यासिनोहरूमा यसैका आधारमा लामो समयदेखि छापा मार्ने काम हुँदै आएको छ ।