एकीकृत माओवादीका विद्रोही कार्यकर्ता जनमोर्चा नेपालमा प्रवेश

रामशरण पुडासैनी
मकवानपु  – सीमा सुरक्षा र नागरिकताको मुद्दा निरन्तर उठाइरहेका साध्यबहादुर भण्डारी नेतृत्वको जनमोर्चा नेपालमा दुई साना दलका बहुमत केन्द्रीय सदस्य, कार्यकर्ता र एकीकृत माओवादीका विद्रोही कार्यकर्ता प्रवेश गरेका छन्।  
नेपाली जनता दल र प्रगतिशील वामपन्थी मञ्चका सबैजसो केन्द्रीय नेता आइतबार जनमोर्चा प्रवेश गरे। जनता दलका केन्द्रीय उपाध्यक्ष आरके मैनालीको नेतृत्वमा ८४ केन्द्रीय सदस्यसहित देशभरका ११ सय ४० कार्यकर्ताले जनमोर्चाको टीका लगाए।
जनमोर्चा प्रवेश गर्नेमा सचिवालय सदस्य वीरबल मिजार, केन्द्रीय सदस्य नेत्रबहादुर दुरा, गणेश रावल, भगवती पुरी, रीता ढुंगाना, कमला मिजार, सीता उप्रेती, सुशीला अधिकारी, अनन्त पौडेल, देवनारयण चौधरी, युवराज आचार्य, शशी ढकाल, त्रिवेणीलाल चौधरीलगायत ८४ जना केन्द्रीय सदस्य छन्। उनीहरु सबै जनता दल परित्याग गरी जनमोर्चामा समाहित भएको मैनालीले जानकारी दिए। 
बामपन्थी मञ्चबाट संयोजक कमलचन्द्र सुमनसहित कार्यसमितिका ११ सदस्य र ६ सय कार्यकर्ता प्रवेश गरे। एमाओवादी विद्रोही समूहबाट मधेस राज्य समितिका सात सदस्यसहित ४१ जना आएका छन्। 
जनमोर्चाका महासचिव साध्यबहादुर भण्डारी र नवप्रवेशीले आइतबार नै हेटौंडामा एक सम्झौतापत्रमा हस्ताक्षर गरे। जनता दल छाडेका आरके मैनाली, मञ्चका सुमन र एमाओवादीका विद्रोही शिवहरि तिमल्सिनाले हस्ताक्षर गरेको पत्रमा एक भएर बढ्ने उल्लेख छ। 
प्रवेशपछि मैनाली जनमोर्चाका केन्द्रीय सचिवालय सदस्य र जनता दलका वीरबल मिजार, कृष्णकेवी सुनुवार र भूपेन्द्र ढुंगाना केन्द्रीय सदस्य बने। वैकल्पिक सदस्यमा उत्तमकुमार लामिछाने, युवराज आचार्य, शम्भुनारायण चौधरी, नवराज पोखरेल, तेजबहादुर कार्की, भगवती पुरी, अनन्त पौडेल, रीता ढंुगाना, शंकर लिंखा चयन भएका छन्। अन्यलाई विभिन्न समितिमा सामेल गराइएको मैनालीले बताए। 
मञ्च संयोजक सुमन जनमोर्चाका केन्द्रीय सदस्य बने। विद्रोही माओवादीका शिवहरि तिमल्सिनाको जिम्मेवारी भने पछि तोक्ने सम्झौता भएको महासचिव भण्डारीले जानकारी दिए। उनले नेताहरुको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिने जानकारी गराए।
नवप्रवेशीको स्वागत गर्दै महासचिव भण्डारीले वर्तमान निर्दलीय सरकारले चुनाव नगराउने टिप्पणी गरे। उनले ४ दलको नियन्त्रणमा चुनावी सरकार नभएको भन्दै उनीहरुको आग्रहमा चुनाव नहुने दाबी गरे। 
भण्डारीले सविधानसभामा असफल ४ दलको आग्रहमा चुनावी सरकारको नेतृत्व गरेका खिलराज रेग्मीले चुनाव गराउने सम्भावना नरहेको बताए। उनले चुनाव खिलराजको स्वविवेकी अधिकार भएकाले हुन्छ भन्न नसकिने बताए। 
राजनीतिक दल स्वयंले नै आफ्नो असफलता छोप्न विदेशीको डिजाइनअनुसार रेग्मीलाई नेतृत्व दिएको भन्दै सरकार अनन्तकाल चल्ने भण्डारीको जिकिर छ।