मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीद्धारा काठमाडौँ उपत्यकामा भइरहेको सडक विस्तारलाई तीव्रताका साथ निरन्तरता दिन निर्देशन

काठमाडौ – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाडौँ उपत्यकामा भइरहेको सडक विस्तारलाई तीव्रताका साथ निरन्तरता दिन निर्देशन दिएका छन् ।    अध्यक्ष रेग्मीले सार्वजनिक यातायातका साधन, विदेशी पाहुना, पर्यटक र सर्वसाधारणले प्रयोग गर्ने मूल सडकलाई पहिलो प्राथमिकतामा राखी काम गर्न समेत सरोकार भएका निकायलाई निर्देशन दिएका हुन् । आफ्नै कार्यकक्षमा आज आयोजित उच्चस्तरीय सडक अनुगमन समितिका पदाधिकारीको वैठकमा अध्यक्ष रेग्मीले सो निर्देशन दिएका हुन् ।


उनले सडक विस्तारका लागि सडक छेउमा रहेका भौतिक संरचना भत्काउन तत्परता देखाए झँै सडक छिटो निर्माण गर्न पनि सम्बद्ध अधिकारीलाई निर्देशन दिए । उनले काममा ढिला गर्ने निर्माण व्यवसायीमाथि कठोर कारबाही गर्न पनि पछि नपर्न सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिए ।


अध्यक्ष रेग्मीले एकीकृत सोचका साथ कामलाई अगाडि बढाउन, सडक निर्माण भइसकेपछि तुरुन्तै खम्बा हटाउने व्यवस्था मिलाउन तथा रातबिरात निजी संरचना तोडफोड नगरी सर्वसाधारणलाई सम्झाइबुझाई गरेर न्यून क्षति हुने गरी सडक विस्तारको कामलाई अभियानकै रुपमा सञ्चालन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


अध्यक्ष रेग्मीले पुरातात्विक वस्तुको संरक्षण गर्न, अदालतको आदेशको पालना गर्न, काठमाडौँ उपत्यकाभित्र हरियाली प्रवद्र्धन गर्न र प्रत्येक महिनामा नियमित समीक्षा बैठक गर्न आग्रह गरे ।


भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री छविराज पन्तले गुणस्तरीय सडक निर्माणमा जोड दिए ।


उच्चस्तरीय अनुगमन समितिका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाले हाल करिब २०० किमि सडक विस्तारको क्रममा रहेको र यस आवको अन्त्यसम्म करिब ९० प्रतिशत काम सम्पन्न हुने अनुमान रहेको बताए । सचिव बास्कोटाले भत्काउँदा निस्किएको फोहोर तीन दिनभित्र हटाउने, बत्ती, टेलिफोन र खानेपानीको तार र पाइप दायाँ र बायाँतर्फ निर्माण गरी जनतामा सेवा प्रवाह गर्न र बटुवाका लागि पेटी निर्माणको कामलाई प्राथमिकता दिन आग्रह गरे ।


उनले प्रत्येक सडकमा होडिङ बोर्ड राख्नुपर्ने, सम्भव भएसम्मका स्थानमा अपाङ्गमैत्री सडक निर्माण गर्ने, चौडा सडकमा साइकल लेन राख्ने, मूल सडकको अग्रभागमा पर्ने घरले सौन्दर्य कायम गर्नुपर्ने तथा ढिलो काम गर्ने ठेकेदारलाई कालो सूचीमा राख्नुपर्नेमा जोड दिए ।


सचिव बास्कोटाले राजधानीको सडक विस्तार कार्यमा सरकारी रु १० अर्ब र निजी क्षेत्रका तर्फबाट रु ३० अर्ब खर्च हुने अनुमान प्रस्तुत गरे ।


सो अवसरमा गुणस्तरीय सडक निर्माण गर्ने, यात्रु ओराल्ने र झार्ने गरी बिसौनी निर्माण गर्ने, सालिक र मन्दिरलाई व्यवस्थित गर्ने तथा कूटनीतिक नियोगका संरचनालाई पनि व्यवस्थित गर्न पहल भइरहेको जानकारी दिइयो । काठमाडौँको एउटा गुरुयोजना तयार  हुनुपर्ने, बहुतले भवनको अवधारणमा जानुपर्ने, ठाउँठाउँमा पुल थप्नुपर्ने, फ्लाइओभर ब्रिज निर्माण गर्नुपर्ने, काठमाडौँमा मेट्रो सञ्चालन गर्नुपर्ने, यथासक्दो छिटो चक्रपथ पनि चौडा गर्नुपर्ने र सडक विस्तारका काममा साधन र स्रोतको अभाव हुन नहुनेमा जोड दिइएको थियो ।


बैठकमा भौतिक पूर्वाधार तथा यातायातसचिव तुलसी सिटौला, गृहसचिव नवीन घिमिरे, सूचना तथा सञ्चारसचिव ध्रुवप्रसाद शर्मा, सहरी विकाससचिव किशोर थापा, परराष्ट्रसचिव दुर्गा भट्टराई, ऊर्जासचिव हरिराम कोइराला, अर्थसचिव शान्तराज सुवेदी र काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त केशव स्थापितलगायतले आआफ्नो विचार व्यक्त गरेका थिए ।


यसैबीच आज राजधानीमा आयोजित कार्यक्रममा सचिव सिटौलाले राजधानीका १८४ वटा सडकको १८८ किलोमिटर खण्ड विस्तार गरिने लक्ष्य रहेको जानकारी दिए । भत्काइएका सडकमध्ये हालसम्म १५ किमि कालोपत्रे गरिसकिएको र यही वैशाखभित्र ५० किलोमटिर थप कालोपत्रे गरिने सचिव सिटौलाले बताए ।   


खानेपानी विभागका महानिर्देशक ईश्वरीप्रसाद पौडेलले राजधानीलाई सभ्य, सुन्दर र हराभरा बनाउन सडक विस्तारलाई छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले सडक विस्तारको कामले तीव्रता नपाउँदा राजधानीवासीले हिउँदमा धुलो र वर्षामा हिलो भोग्न बाध्य रहेकाले सडक विस्तारको अभियानलाई छिटो सक्नका लागि आइपर्ने शान्तिसुरक्षाको व्यवस्था गर्न प्रशासन कटिबद्व भएको बताए ।

 

RSS