अमेरिका । अमेरिकाको बोष्टन शहरमा श्रृंखलाबद्ध वम विष्फोट गराइएको छ । तीन पटक गराइएको विष्फोटमा तीन जना मारिएका छन् । एक सय ४० जना घाइते भएका छन् । १७ जनाको अवस्था अत्यन्त नाजुक छ । मारिनेमा आठ वर्षे बालक पनि परेका छन् । आतकंवादीले नै विष्फोट गराएको अमेरिकी गुप्तचर संस्था एफबीआईले जनाएको छ । घटनापछि राष्ट्रपति बाराक ओबामाले आक्रमणमा संलग्नले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
बोष्टन विष्फोट कसले किन गराएको भन्ने अहिलेसम्म नखुलेपनि दोषीलाई जसरी पनि पत्ता लगाइने दृढता ओबामाले व्यक्त गर्नुभएको छ । विष्फोटपछि पूरै अमेरिकामा सुरक्षा बढाइएको छ । नेपाली समय अनुसार गएराति करिब १ बजेतिर बोष्टन म्याराथनका क्रममा उक्त विष्फोट गराइएको हो । विष्फोट हुँदा अमेरिकामा भने दिनको करिब तीन बज्न लागेको थियो ।
दुई विष्फोट म्याराथन सकिएको दुई घण्टापछि म्याराथन सकिने अन्तिम लाइननजिक भएको थियो । भने अर्को विष्फोट जेएफके लाइब्रेरीनजिक भएको थियो । बोष्टन म्याराथनलाई अमेरिकाको ठूला खेल मध्ये एक मानिन्छ । विष्फोटपछि अहिले बोष्टन एअरपोर्टमा उडान बन्द गरिएको छ ।
यसैबीच, बोस्टन म्याराथनमा बम बिस्फोट भएपछि इङ्गल्याण्डमा आगामी आईतबार हुने लन्डन म्याराथनमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । लन्डन म्याराथनमा यस पटक ३६ हजारभन्दा बढीले सहभागिता जनाउने अनुमान आयोजकको छ । थेम्स नदीको किनारै किनारमा हुने ३३ औं लन्डन म्याराथनमा धावकहरुले ४१ किलोमिटर दूरी पार गर्नेछन् ।
Agencies