बन्दले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको जनजीवन ठप्प

दाङ  । थारु संघ संस्थाहरुले आह्वान गरेको बन्दले पश्चिम तराईका पाँच जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको जनजीवन ठप्प छ । यी जिल्लामा यातायातका साधन चलेका छैनन् भने बजार र शैक्षिकसंस्था ठप्प छ । ललितपुरको एक घरमा कम्लहरी राखिएकी दाङ देउखुरी लालमटीयाकी १२ बर्षिया सृजना चौधरीको जलेर मृत्यु भएको घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गदै बन्द आह्वान गरिएको हो ।
 
घरधनीले जलेर दुर्घटना भएको जनाएपनि मृतकको परिवारले भने हत्या गरेको आरोप लगाएका छन् । यसबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने माग ति संस्थाहरुको छ । सप्तरीमा पनि आज यातायातका साधन चलेका छैनन् । नेपाल स्वतन्त्र मजदुर संगठन सप्तरीले प्रहरी प्रशासनको विरोधमा यातायात सेवा बन्द गराएको हो । 
प्रहरीले एकपक्षीय मुचुल्का तयार गरी षड्यन्त्र पूर्वक सवारी चालकलाई फसाएको भन्दै गाडी चलाउन रोक लगाएको हो । गत चैत १ गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत जण्डौल सडक खण्डमा भएको यात्रुबस दुर्घटनामा प्रहरीले एकपक्षीय मुचुल्का तयार गरेको र चालकलाई फसाएको संगठनको आरोप छ ।
RSS